घर भत्किएर मृत्यु भएको दोस्रो दिनमै सवा दुई लाख राहात बितरण



घर भत्किएर मृत्यु भएको दोस्रो दिनमै सवा दुई लाख राहात बितरण

घोराही २५ असार । घोराही उपमहानगरपालिका १७ क्वाडिमा घरको गारो भत्किएर मृत्यु भएकी तीन महिनाकी विनु चौधरीको परिवारलाई सरकारले सवा २ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट २ लाख र घोराही उपमहानगरपालिकाको तर्फबाट २५ हजार गरी २ लाख २५ हजार रुपैयाँ पिडित परिवालाई उपलब्ध गराईएको हो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रहरी प्रमुख एसपी सुरेश काफ्ले सहित जनप्रतिनिध र पत्रकारहरुको उपस्थितीमा दिबंगत विनुकी बुवा आशाराम चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

घटनामा परि आशारामकी श्रीमती र छोरी घाईते भएको र उनीहरुको निशुल्क उपचार गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिए । यस्ता विपद्का घटनामा परि दिबंगत हुने परिवारलाई सरकारले तोकेको आर्थिक सहायता उपलब्ध गराएको र घाईतेको उपचार खर्च सरकारले व्यहोर्ने उनले बताए ।

अविरल बर्षाका कारण अस्ती राती गोठ भत्कने क्रममा घरको गारो समेत भत्कीदा सुतिरहेका तीन महिने शिशु विनुको मृत्युभएको थियो । घाईते आमाछोरी उपचार पछि घर फर्किएका छन् । आमाको दायाँ हात तथा टाउको र छोरीको खुट्टामा चोट लागेको छ । यस्तै, नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले पनि चौधरी परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे