काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलाे: सबै किसिमका गाडी चल्न पाउने



काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलाे: सबै किसिमका गाडी चल्न पाउने

काठमाण्डाै २० असार । काठमाण्डौ उपत्यकामा सबै किसिमका गाडी चल्न पाउने व्यवस्थासहित यही मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ ।

सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्क लगाउने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने व्यवस्थासहित सबै प्रकारका गाडी चलाउन पाउने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेकाे बैठकले काठमाण्डौ उपत्यका भित्रिने गाडीहरूले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्थालाई यथावत् राखेको छ ।

सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटी पार्लर, मनोरञ्जनस्थल, फुटसल, जिमखाना, चिडियाखाना लगायत भिडभाड हुने ठाउँमा प्रतिबन्ध लगाइएको छ । यस्तै खुला ठाउँमा भोजभतेर वा सभा, समारोह गर्न, मन्दिरमा नित्य पूजाबाहेक सांस्कृतिक गतिविधि गर्न, भौतिक उपस्थितिमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

एउटा कोठामा बढीमा २५ जना उपस्थित हुने गरी परीक्षा सञ्चालन गर्न भने दिइने जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले निकालेकाे विज्ञप्तिमा छ । औषधिबाहेकका पसल बेलुका ६ बजेसम्म मात्रै र टेक वे वा होम डेलिभरीका लागि रेस्टुरेन्ट तथा खाजा घर बेलुकी ७ बजेसम्म खोल्न पाइने भएको छ ।  पछिल्लो पटक थपिएको निषेधाज्ञा भाेलि राति १२ बजेदेखि सकिँदैछ । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे