काठमाण्डाै उपत्यकामा बढीमा २५ जनासम्म राखेर परीक्षा चलाउन पाइने



काठमाण्डाै उपत्यकामा बढीमा २५ जनासम्म राखेर परीक्षा चलाउन पाइने

काठमाण्डाै २० असार । काठमाण्डाै उपत्यकामा बढीमा २५ जना विद्यार्थीसम्म राखेर परीक्षा चलाउन पाइने भएकाे छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेकाे बैठकले निषेधाज्ञा थप खुकुलाे पार्दै यस्ताे निर्णय गरेकाे हाे ।

यस्तै एकै दिनमा २५ जनाभन्दा बढी जम्मा हुने अवस्था भएमा शिफ्ट अनुसार परीक्षा सञ्चालन गरी परीक्षार्थीहरू हलमा प्रवेश गर्नुअघि र परीक्षा सकिएपछि सरकारले तोकेको मापदण्डअनुसारको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउनु पर्नेछ ।

एउटा शिफ्टका सबै व्यक्ति परीक्षास्थलबाट बाहिरिएपछि मात्र अर्काे शिफ्टसँग सम्बन्धित व्यक्ति प्रवेश गर्न मिल्ने गरी फरक समय राख्न काठमाण्डौ जिल्ला प्रशासन कार्यलयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
‘परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी मास्क तथा स्यानिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक शिफ्टमा परीक्षा हल अनिवार्य रूपमा निसङ्क्रमित गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

२२ गतेदेखि लागू हुने निषेधाज्ञाकाे नयाँ अवधि असार मसान्तसम्म रहनेछ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे