दाङमा चोरीका १३ वटा मोटरसाइकल सहित ८ जना पक्राउ



दाङमा चोरीका १३ वटा मोटरसाइकल सहित ८ जना पक्राउ

दाङ १८ असार । दाङबाट चोरी गरी रोल्पा र प्युठान पुर्‍याईएका १३ वटा मोटरसाईकल सहित ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दाङबाट चोरी गरी रोल्पा र प्युठान पुर्‍याईएका विभिन्न कम्पनीका १३ वटा मोटरसाईकल सहित चोरी गर्ने गिरोहका नाईकेलाई आज जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा एक जना भारतिय, ५ जना रोल्पाका, दाङ र प्युठानका एक एक जना रहेका छन् । भारत बलरामपुर तुलसीपुर थानाका २२ बर्षिय मोहम्मद रफिक, घोराही उपमहानगरपालिका १९ का १९ बर्षिय जाबेद खान र प्युठान स्वर्गद्धारी नगरपालिका ३ जलुकेका २४ बर्षिय ठगिराम थापालाई पक्राउ गरिएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

अन्य पक्राउ पर्नेमा रोल्पा सुनिलस्मृती गाउँपालिका ३ सुलिचौरका २८ बर्षिय श्रीजात अन्सारी, लुंग्री गाउँपालिका ४ नम्जाका २६ बर्षिय लेखनाथ विष्ट, वडा नम्बर ५ बडाचौरका २५ बर्षिय टेकेन्द्र बिष्ट, वडा नम्बर ६ गुम्चालका २६ बर्षिय नुमबहादुर रोका क्षेत्री र २२ बर्षिय हिराबहादुर बिष्ट रहेका छन् । पक्राउ परेका श्रीजात अन्सारी ग्लोवल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेको र रोल्पामा उनले चोरीका मोटरसाईकल खरिद गर्न गिरोह परिचालन गरेको प्रबक्ता डिएसपी रिजालको भनाई छ ।

त्यसैगरी, प्युठान जलुके स्थित थापा अटो पार्टसका सञ्चालक ठगिराम थापाले चोरीका मोटरसाईकल खरिद गर्ने र विक्रि गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीमा दैनिक मोटरसाईकल चोरीका निबेदन आउन थालेपछि प्रहरी सहायक निरिक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए ।

यसैविच दाङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले कुनै पनि अपराधलाई सामान्य नठान्ने बताउनुभएको छ । ५ दिन पहिले दाङमा प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएका काफ्लेले मोटरसाईकल चोरीका घटना चुनौतीपूर्ण बन्दै गएको पाएपछि मोटरसाईकल खोजी र गिरोह पक्राउमा पहिलो कार्वाही थालेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे