खिनैटा- देवीकोट जोड्ने दोलाईखोलामा पक्की पुल बन्न थालेपछि स्थानीयबासी खुसी



खिनैटा- देवीकोट जोड्ने दोलाईखोलामा पक्की पुल बन्न थालेपछि स्थानीयबासी खुसी

भालुवाङ १८ असार । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर—४ मौरीघाट खिनैटा, मझनीगढ हुँदै देवीकोट जोड्ने दोलाईखोलामा पक्की पुल बन्न थालेपछि स्थानीयबासीलाई राहत मिलेको छ । खोलामा झुलुङगेपुल भएपनि मालसमान ढुवानी गर्न, बिरामीलाई एम्बुलेन्स मार्फत ल्याउन लैजान नसकिने र स्कुल बस आउन नसक्दा विद्यार्थीहरु हिडेरै स्कुल जानुपर्ने निकै बाध्यता छ भने खोलामा बाढी आउँदा जोखिम मोलेर एम्बुलेन्स र ढुवानीका गाडीहरु खोला वारपार गर्ने गरेका छन् ।

दोलाइखोलामा पक्की पुल बन्दै गर्दा अब जोखिम मोलेर खोला वारपार गर्नुपर्ने स्थानीयको बाध्यता करिव अन्त्य भएको छ । पुल बन्न थाले पछि स्थानीयहरु समेत निकै खुसी भएका छन् । राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड बिनियोजित बजेट मध्येबाट आर्थिक वर्ष २०७६/०७७ मा नेश्नल शंकर मालि जेभी काठमाण्डौंले ३ करोड ५१ लाखको ठेक्का सम्झौतामा ३५ मिटर लम्बाई, ८.४ मिटर चौडाई र दुवै तर्फ १.२ मिटर फुटपात रहने गरी पक्की पुल निमाणर् हुन लागेको छ ।

यस आर्थिक बर्षको असार मसान्त सम्म निमाणर्को काम पुरा गर्नुपर्ने सम्झौता भएपनि अन्तिम चरणमा कोरोना महामारी, लकडाउन र वर्षाका कारण २ महिना ढिला भएको र करिव ९० प्रतिशत काम पुरा भइसकेको राप्ती गाउँपालिकाका इन्जीनियर अशोक बल्वासेले बताउनु भयो । स्थानीयहरुले २० वर्ष अगाडी देखि पक्की पुलको माग गरेपनि त्यो अहिले सम्म पुरा हुन सकेको थिएन ।

दुई तहको सरकार हुँदा पुरा गर्न नसकेको काम आफु वडा अध्यक्ष जितेर आएपछि दोलाई खोलको पुललाई गौरवको आयोजनामा पारी पहिलो प्राथामिकतामा राखेर काम सुरु गरेको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले बताउनु भयो । पुल सञ्चालनमा आएपछि राप्ती गाउँपालिका वडा नम्बर ४ को मौरीघाट, जनकपुर, खिनैटा, मझनीगढ, सिमलखुट्टी र वडा नम्बर ९ को देवीकोट, रुपाकोट लगायत आसपासका बस्तीका स्थानीय प्रत्येक्ष लाभान्तित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे