कसले सुनिदिने हाम्रो चित्कार ?



कसले सुनिदिने हाम्रो चित्कार ?

बलात्कारविरुद्ध नेपाली नायिकाहरुले आवाज उठाउन थालेका छन् । पटकपटक एकै प्रकृतिका घटना भइरहे पनि सरोकारवाला निकायले आँखा चिम्लिएर बसेको उनीहरुको गुनासो छ । सरोकारवाला मन्त्रालय र न्यायलय आँखामा पट्टी बाँधेर बसेका कारण बलात्कारजस्तो जघन्य अपराधका घटना भइरहेको नायिका ऋचा शर्मा र वर्षा राउतले बताएका छन् ।

नेपाली कानुनले आँखा मात्र होइन कान र मुखमा पनि पट्टी बाँधे झैं भान भइरहेको वर्षाको भनाइ छ । नारीलाई सम्मान र सुरक्षा दुवै नभएको उनले असन्तुष्टि जाहेर गरेकी छिन् ।

नायिका ऋचा शर्मा अझै पनि नेपाल अग्‍नि परीक्षाकै युगमा रहेको बताएकी छिन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफूलाई छोरी जन्मिएला कि भन्‍ने डर लाग्‍न थालेको बताएकी छिन् । छोरीका लागि सुरक्षित ठाउँ बनाउन नसकुँला कि भन्‍ने डर लाग्‍न थालेको भन्दै उनले कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा अपराधीहरुको मनोबल बढेको उनको भनाइ छ ।

“राष्ट्रपति स्वयं महिला हुनुहुन्छ । त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनका निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्‍नि परीक्षा दिएको युगमै छौं झैं लाग्छ,” उनी भन्छिन्, “हामी टेक्नोलोजीले विकसित भयौं तर, अफसोस सोचले अझै पिछडिएका छौं ।”

ऋचा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फेसबुक पेजमा लेख्छिन् :
आदरणीय प्रधानमन्त्रीज्यू,
एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैंलाई लाज लाग्‍न थालेको छ डर लाग्‍न थालेको छ, मन आत्तिन थालेको छ । ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्‍ने डर लाग्‍न थालेको छ । मलाई छोरीका लागि सुरक्षित ठाउँ बनाउन नसकुँला कि भन्‍ने डर लाग्‍न थालेको छ । मलाई भोलि छोरा पाउन नि डर लाग्‍न थालेको छ । मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्‍ने मनस्थितिमा हुर्किन्छ कि भन्‍ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्‍न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएकामा हिजोआज आफैंलाई लाज लाग्‍न थालेको छ । जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्‍नि परीक्षा दिएको युगमै छौं झैं लाग्छ । हामी टेक्नोलोजीले चाहिँ विकसित भयौं । तर, अफसोच सोचले अझै पिछडिएका छौं । यहाँ बालिकाहरुलाई सवयं खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं । जनताको नभए पनि एकचोटि परिवारमा छोरी (नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, कि यो देशमा उनीहरु सुरक्षित छन् ? म सरकारमा विश्वास राख्‍ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदै छन् । बाँकी तपाईंहरु बुझकी  !
निवेदक : एक आम नेपाली नारी
ऋचा शर्मा

० ० ०

वर्षा आफ्नो फेसबुक पेजमा लेख्छिन् :
म एक नारी हुँ । एक नेपाली नारी । धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरूलाई सम्मानित, सुरक्षित र सामान अवसरका साथ बाँच्‍न पाउने व्यवस्थाको लाभ उठाइरहेको नारी, यस्तो संवैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद ।  तर, कति दिन धन्यवाद भनिरहने ? नारी अधिकारका लागि कानुन छ तर कागजमा मात्र सीमित । कानुन मन्त्री र न्याय मूर्ति पनि नारी नै हुनुहुन्छ तर मौन । नेपाली कानुनले आँखा मात्र होइन कान र मुखमा पनि पट्टी बाँधे झैं भान भइरहेको छ ।

भर्खरै जन्मिएको शिशुदेखि ८० वर्षीयासम्म बलात्कृत, बाउद्वारा छोरी बलात्कृत, बालक बलात्कृत बालिका बलात्कृत, हिमाल, पहाड, तराई, गाउँ, सहर, वन, जंगल, गल्ली, कार्यालय सबैतिर बलात्कार । 

खै कहाँ छ नारीलाई सम्मान ?
खै कहाँ छ नारीलाई सुरक्षा ?
खै कहाँ छ नारीका लागि कानुन ?
नारीका रक्तपिपासुहरू खुलेआम कानुनको कार्पेटमा पिसाब गर्दै गर्वसाथ पुरुषार्थ प्रदर्शन गरिरहेका छन् । कानुनको परिपालना गर्ने निकायका जिम्मेवार माननीयहरू बलात्कारको संख्या गन्दै सफलता आकलन गर्नमा व्यस्त हुनुहुन्छ, अनि अधिकार सम्पन्‍न हामी नेपाली नारी निरिह बलात्कृत भइरहेका छौं । कसले सुन्‍ने हाम्रो चित्कार ? कसले मेटाउने हाम्रो त्रास ? कसले दिने हामीलाई सुरक्षा अनि न्याय ?

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे