“प्रदेशीलाई कहिले पनि दशैं तिहार आएन” गीत सार्वजनिक [भिडियो]
![“प्रदेशीलाई कहिले पनि दशैं तिहार आएन” गीत सार्वजनिक [भिडियो]](https://deukhuritoday.com/wp-content/uploads/2020/10/dashai-tihar-geet.jpg)
बाँके २४ असोज । प्रदेशमा बस्ने नेपालीको जीवन कथामा आधारित दशैँ तिहार गीत “प्रदेशीको दशैं तिहार” सार्वजनिक भएको छ ।
“प्रदेशीलाई कहिले पनि दशैं तिहार आएन, यसपाली पनि लकडाउनले घर फर्कनै पाएन,
मलाई सम्झी बस्दै होलिन् मेरी पियार, प्रदेशैमा बित्ने भयो दशै तिहार”
कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामको लागि गरिएको लकडाउनले यो वर्ष पनि प्रदेशबाट घर फर्कन नपाएको भाव गीतमा रहेको छ । “प्रदेशैमा बित्ने भयो दशैं तिहार” बोलको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गायिका पारु केसी र रत्न मगरको लय शब्द र संगीत तथा गायिका केसी, गायक रत्न मगर र रमेश मगरको स्वर रहेको गीतमा काम विशेषले परदेशिन बाध्य नेपाली दाजुभाईको कथा व्यथालाई समेटिएको छ ।
चाडपर्वका बेला प्रदेशमा रहँदा आउने गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढङ्गबाट गीतको भिडियोमा उतार्ने प्रयास भएको छ । हुम गैरेको निर्देशन रहेको गीतको भिडियोमा निक शर्मा, अस्मिता राना र रामु विरही लगायतका कलाकारले अभिनय गरेका छन् ।
“घर छोडेर जानु भएको पाँच वर्ष पाँच दिन, तिमी भए पुग्छ मलाई अरु केही चाहिदैन,
प्रदेशैमा बिताउनु भयो दशै तिहार ।”
घर छोडेर विदेश गएको श्रीमान लामो समयसम्म पनि नफर्किदा चाडपर्व रमाइलो हुन नसकेको कुरा पनि गीतमार्फत व्यक्त गरिएको छ ।
“प्रदेशमा रहने नेपालीले दशैं तिहारमा घरपरिवारलाई कसरी सम्झिएर दिन बिताउछन् भन्ने भावलाई गीतमार्फत प्रस्तुत गर्ने जमर्को गरेका छौँ,’ गायिका केसीले भन्नुभयो,‘यो वर्ष कोरोना भाइरस महामारीले प्रदेशमा रहेका नेपालीलाई पीडा थपेको कुरालाई पनि हामीले गीतमा समेटेका छौँ, आशा छ गीतले दर्शकको मन छुनेछ ।”
गायकद्वय रत्न मगर र रमेश मगर रोजगारीको शिलशिलामा लामो समयदेखि विदेशमै रहँदै आएकोले पनि परदेशमा बस्ने नेपालीको यथार्थ जीवन कथालाई गीतमा समेटिएको गायिका केसीको भनाई छ ।