सुदूरपश्चिममा ओली समूहका ७ सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय



सुदूरपश्चिममा ओली समूहका ७ सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय

धनगढी ३१ जेठ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए । यस्तै उनीहरुले संसदीय दलको ह्वीप विपरी  सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।

सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् । संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे