लमजुङका पूर्वसांसद हरिभक्त अधिकारीको निधन



लमजुङका पूर्वसांसद हरिभक्त अधिकारीको निधन

लमजुङ ३१ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका पूर्वसभापति, पूर्वसांसद हरिभक्त अधिकारीको ७९ वर्षको उमेरमा आइतवार राति साढे ११ बजे उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले जानकारी दिए ।

नेता अधिकारीको निधनले नेपाली कांग्रेसलाई मात्र नभइ सिङ्गो लमजुङलाई नै अपूरणीय क्षति पुगेको उनले बताए । पाैडेलका अनुसार नेता अधिकारीले २०४८ देखि २०५३ सम्म पार्टीको जिल्ला सभापति भइ भूमिका निर्वाह गर्नुभएको थियो । उनी २०५६ सालको आमचुनावमा नेपाली कांग्रेस लमजुङको तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं २ बाट विजयी भएका थिए ।

अधिकारीले गैरसरकारी संस्था महासङ्घको केन्द्रीय कार्यवाहक अध्यक्ष भएर समेत काम गर्नुभएको थियो भने २०५५ सालमा नेपाल खाद्य संस्थानको अध्यक्ष पनि भएका थिए ।

‘उनले देखाउनुभएको बाटोमा हिँड्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ’, नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सचिव हरिप्रसाद बरालले भने, ‘दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै पार्टीको तर्फबाट समवेदना व्यक्त गर्दछाैँ ।’ नेता अधिकारीको जन्म सुन्दरबजार नगरपालिका वडा नं ४ (साविक दुराडाँडा गाविस चारघरे) मा १९९९ पुस १९ गते भएको हो ।

नेता अधिकारीको निधनले कांग्रेसले एक असल नेता गुमाएको भन्दै कांग्रेसका शीर्ष नेताहरूले समेत समवेदना व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद हरिभक्त अधिकारीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँकाे निधनले कांग्रेसले एक असल नेता गुमाएको छ’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे