दाङका १० स्थानीय तह मध्ये ८ स्थानीय तहका ३५ वटा वडाहरु विपदकाे उच्च जोखिममा



दाङका १० स्थानीय तह मध्ये ८ स्थानीय तहका ३५ वटा वडाहरु विपदकाे उच्च जोखिममा

देउखुरी ३० जेठ ।  यस वर्षको वर्षायाममा हुन सक्ने विपत्ति र जोखिमलाई मध्यनजर गर्दै दाङमा विपद प्रतिकार्यको योजना तैनाथी अवस्थामा राखिएको छ । दाङका सबै स्थानीय तहहरुमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रणनैतिक कार्ययोजना निर्माण गरी बाढी पहिरोेलगायत विपदमा हुन सक्ने जोखिम पहिचान गरी प्रतिकार्यका योजना तैनाथी अवस्थामा राखिएको हो ।

बाढीको दृष्टिकोणले जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये ८ वटा स्थानीय तहहरुका ३५ वटा वडाहरु उच्च जोखिममा रहेका विपद व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार २५ वटा वडाहरुमध्यम जोखिमको सूचिमा रहेका छन् भने ४० वटा वडाहरु बाढीको दृष्टिकोणले न्यून जोखिम रहेका छन् ।

विगतको विपद प्रभाव क्षेत्र, घटिरहने विपदका घटना, विपदका कारण भएको क्षतिको तथ्यांकको आधारमा विश्लेषण गरी स्थानीय पालिकाको समन्वयमा राखिएको उनले बताए । जसमा सबैभन्दा उच्चदेखि मध्यम जोखिमको रुपमा जिल्लाको राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, लमही नगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र घोराही उपमहानगरपालिका रहेका छन् भने बंगलाचुली गाउँपालिका बाढीको कम जोखिममा रहेको छ भने पहिरोको उच्च जोखिममा रहेको छ ।

जिल्लामा हुनसक्ने सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै आपतकालीन कार्य सञ्चालन केन्द्रले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर केन्द्रको सर्कुलरका आधारमा विपदका बेला चाहिने आवश्यक सामग्री स्थानीय पालिकामा खरीदलगायत जनशक्ति तैनाथी अवस्थामा राखेको संयोजक पौडेलले बताए ।
विपदबाट बच्न आवश्यक सूचना व्यवस्थापनदेखि प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि प्रदेशमा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्र, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्लाभित्र रहेका सुरक्षा निकाय, स्थानीय सरकारहरु र रेडक्रसलगायतका विभिन्न सहयोगी निकायहरुसँग समन्वय पनि भएको उनको भनाई छ ।

उनका अनुसार जिल्लामा रहेको पश्चिम राप्ती र बबई नदीका जलाधार क्षेत्रका समुदायहरुमा विपद पूर्व तयारी तथा बाढी पूर्वसूचना प्रणाली परियोजना समेत सञ्चालनमा छ । जिल्लामा विपदको समयमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीको तालिम प्राप्त जनशक्ति, स्थानीय नागरिकहरु उपलब्ध सामग्री सहित तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्था राखिएको उनले बताए ।

यस्तै, विपद जोखिम न्यूनीकरणका लागि समुदाय स्तरमा सामुदायिक विपद् व्यवस्थापन समिति तथा बाढीपूर्व सूचना प्रणाली कार्यदल, खोज उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलहरू समेत गठन भएकाले कुनै स्थनमा घटना हुनासाथ टोली परिचालन हुने र क्षति कम हुने विश्वास लिईएको बताए ।
यस्तै, जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष मनसुन निकै सक्रिय रहने तथा बाढी पहिरोको सम्भावना उच्च रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । दाङ बाढीको जोखिम जिल्लाका रुपमा परिचित छ ।

नदी तटीय क्षेत्रमा रहेका बस्तीको जोखिम पहिचान र सुरक्षाको आवश्यक व्यवस्थापनमा आफुहरु गम्भीरताका साथ लागि परेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्व अर्यालले बताए ।
राप्ती नदी क्षेत्रमा सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङ, रणसिंह दल गण लमही र बबई नदी क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी उरहरी उपशाखालगायतका स्थानमा तत्काल उद्धारका लागि आवश्यक सामग्री व्यवस्था गरिएको छ । यस्तै स्थानीय पालिकाहरुले पनि खोज तथा उद्धारका सामग्रीहरुको व्यवस्था गरेर जनशक्ति हाइ–अलर्टको अवस्थामा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे