दाङमा फरार अभियुक्त धमाधम पक्राउ पर्दै, फरक फरक मुद्दामा फरार दुई अभियुक्त पक्राउ



दाङमा फरार अभियुक्त धमाधम पक्राउ पर्दै, फरक फरक मुद्दामा फरार दुई अभियुक्त पक्राउ

दाङ २६ जेठ । दाङ प्रहरीले दुई फरक फरक मुद्दामा फरार रहेको दुई अभियुक्तलाई पक्राउ परेको छ । वन मुद्दामा फरार रहेका घोराही उपमहानगरपालिका २ निमुरियाका ५३ वर्षिय रिसमान चौधरी र चोरी मुद्दामा फरार रहेका घोराही १५ का ३६ वर्षिय शिवु चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रिसमानलाई दाङ देउखुरी जिल्ला अदालतले विस २०७४ साल चैत १४ गते वन मुद्दामा १ लाख ३८ हजार ९ सय १७ रुपैँया ३७ पैसा जरिवाना तोकेका थियो । उनी त्यसतया फरार रहेकोमा हिजाे दिउँसो ५ बजे निमुरियामै लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो । त्यस्तै शिवुलाई पनि अदालतले विस २०६१ साल वैशाख ७ गते चोरी मुद्दा ५ हजार ५ सय ५० रुपैँया जरिवाना तोकेको थियो ।

त्यसपछि फरार रहेका शिवुलाई आज दिउँसो ४ बजे घोराही १५ ट्राफिक चोकमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ। पक्राउ परेका दुबै जनालाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पछिल्लो एक हप्तामा दाङ प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रम बढाएको छ । हिजो पनि प्रहरीले घोराही १८ का चोरी मुद्दामा फरार रहेका ४ पहिलालाई पक्राउ गरेको थियो । त्यस्तै अस्ति वन मुद्दामा फरार रहेका घोराही २ का ५ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे