रोटरी क्लव अफ राप्तीद्वारा विद्यालयलाई ५५ हजार बराबरको वायु स्टेण्ड फिल्टर हस्तान्तरण
सिसहनियाँ २९ वैशाख । दाङको राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँ स्थित सरस्वती आधारभूत विद्यालयमा खानेपानी व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले रोटरी क्लव अफ राप्तीले वायु स्टेण्ड फिल्टर हस्तान्तरण गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले मंगलबार आयोजित कार्यक्रममा उक्त फिल्टर औपचारिक रूपमा विद्यालयलाई प्रदान गरिएको हो । रोटरी क्लव अफ पाटन साउथको ४० हजार रुपैयाँ र रोटरी क्लव अफ राप्तीको १५ हजार रुपैयाँ गरी कुल ५५ हजार रुपैयाँको लागतमा खरिद गरिएको वायु स्टेण्ड फिल्टर विद्यालयलाई हस्तान्तरण गरिएको क्लवले जनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यले विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामभरोस चौधरीलाई फिल्टर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष आचार्यले शिक्षण संस्थामा स्वच्छ खानेपानीको पहुँच अत्यन्त आवश्यक रहेको बताए । उनले विद्यालयमा अध्ययनरत बालबालिका र शिक्षक–कर्मचारीहरूले सहज रूपमा शुद्ध पानी पिउन सकून् भन्ने उद्देश्यले सहयोग गरिएको उल्लेख गरे । “विद्यालयमा आधारभूत आवश्यकतामध्ये स्वच्छ खानेपानी पनि अत्यन्त महत्त्वपूर्ण विषय हो,” उनले भने, “बालबालिकाको स्वास्थ्य संरक्षण र सहज वातावरण निर्माणका लागि क्लवले सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरेको हो ।” अध्यक्ष आचार्यले रोटरी क्लवले शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिए । उनले आगामी दिनमा पनि समुदाय र विद्यालयसँग सहकार्य गर्दै आवश्यक सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
त्यस्तै विद्यालयका सहायक प्रधानाध्यापक मंगल प्रसाद चौधरीले विद्यालयमा खानेपानीको समस्या भइरहेका बेला वायु स्टेण्ड फिल्टर प्राप्त हुनु निकै उपलब्धिमूलक कार्य भएको बताए । उनले गर्मीयाममा विद्यार्थीहरूलाई स्वच्छ पानी उपलब्ध गराउन समस्या भइरहेको उल्लेख गर्दै फिल्टरले विद्यालयको दैनिक व्यवस्थापनमा सहजता थप्ने विश्वास व्यक्त गरे । उनका अनुसार विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारबाट आएका छन् । यस्तो अवस्थामा सामाजिक संस्थाबाट प्राप्त सहयोगले विद्यालय सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । “बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर गरिएको यस्तो सहयोग अत्यन्त प्रशंसनीय छ,” उनले भने ।
कार्यक्रममा रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले स्वागत मन्तव्य राख्दै रोटरी क्लवले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले शिक्षा क्षेत्रको विकास बिना समृद्ध समाज निर्माण सम्भव नभएको उल्लेख गर्दै विद्यालयहरूमा आवश्यक सहयोग पुर्याउन क्लव सदैव तत्पर रहने बताए । कार्यक्रममा शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी तथा क्लवका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ राप्तीका सचिव दोर्ण आचार्यले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

