गढवा उवासंघद्धारा लमहीको कोरोना अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान



गढवा उवासंघद्धारा लमहीको कोरोना अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान

गढवा २४ जेठ । कोरोना महामारीबाट थलिएर कोभिड अस्पतालमा भर्ना भएका बिरामीहरुको ज्यान बचाउन गढवा उद्योग बाणिज्य संघले २० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले सोमवार देउखुरीका चारवटै स्थानीय सरकारहरुले संयुक्त रुपमा संचालन गरेको लमही रातोडाँडा स्थित शहिद नेत्रलाल स्मृति प्रतिष्ठानको भवनमा रहेको देउखुरी स्तरीय कोरोना अस्पताललाई रिफिल गरेका २० थान सिलिण्डर हस्तान्तरण गरेको अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट संघ पनि स्तब्ध र त्रसित भएको भन्दै अक्सिजन नपाएर नागरिकहरको अकालमै ज्यान नजाओस भनि अक्सिजन सिलिण्डर प्रदान गरि स्थानीय सरकारसंग सहकार्य गरेको अध्यक्ष खिमबहादुर बुढा मगरले बताए । अस्पतालका इन्चार्ज कमला न्यौपाने र दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल संगको समन्वयमा तत्काल अक्सिजन रिफिल गरि कोभिड अस्पताललाई हस्तान्तरण गरेका हौं, संघका निवर्तमान अध्यक्ष तथा रोटरी क्लब अफ लमहीका अध्यक्ष रविलाल आचार्यले बताए ।

संघका अध्यक्ष खिमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष रविलाल आचार्य, उपाध्यक्ष ओमप्रकाश बस्याल, कोषाध्यक्ष खुमानन्द पोखे्रल र प्रेस सल्लाहकार शिबराज पन्थी समेतको टोलीले लमही स्थित देउखुरी क्षेत्र स्तरीय कोभिड अस्पताललाई अक्सिजन सिलीण्डर प्रदान गरेको हो । टोलीले अस्पतालका इन्चार्ज कमला न्यौपाने र मेडिकल अफिसर डा. छबि पौडेललाई २० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । लमही स्थित कोभिड अस्पतालमा हाल २६ जना बिरामीहरुलाई स्वास्थ्य उपचार गराई रहेको र सबै जसोको स्थिती हाल सम्म सामान्य रहेको अस्पताल इन्चार्ज न्यौपानेले जानकारी दिए ।

गढवा उद्योग वाणिज्य संघले देउखुरीको गढवा स्थित संघको कार्यालयको सभाहल एम्बुलेन्स चालकहरुका लागि क्वारेन्टाइन बनाएर संचालन गरेको छ । यसअघि गढवा क्षेत्रमा कोभिड प्रतिकार्य सचेतना सहित व्यवसायीहरुलाई भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर ब्यवसाय संचालन गर्न पसलहरुमा गोलघेरा लगाउने काम गरेको संघले जनाएको छ । यसैगरी कोभिड प्रतिकार्यमा अग्रस्थानमा रहेर नागरिकको लागि काम गर्ने सुरक्षाकर्र्मीहरुलाई पनि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको उपाध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे