देउखुरीको राप्ती गाउँपालिकाको गाउँ—गाउँमा निशुल्क कोरोना परिक्षण शुरु



देउखुरीको राप्ती गाउँपालिकाको गाउँ—गाउँमा निशुल्क कोरोना परिक्षण शुरु

लालमटिया २४ जेठ । कोरोना संक्रमण सामुदायिक स्तरमा बढे सँगै राप्ती गाउँपालिकाले पनि कोरोना परिक्षणको दायरा बढाएको छ । दाङका दश वटै पालिकामा कोरोना परिक्षण गर्नका लागी एन्टिजेन किट पठाए सँगै राप्ती गाउँपालिकाले पनि कार्यतालिका बनाएर एन्टिजेन विधिबाट कोरोना परिक्षण सुरु गरेको छ ।

यसै क्रममा सोमवार राप्ती गाउँपालिकाको २ नम्बर वडामा एन्टिजेन परिक्षण गरिएको छ । ११ पुरुष र ११ महिला गरी कुल २२ जनाको परिक्षण गर्दा ३ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

गाउँ टोलमै कोरोना परिक्षण हुन थाले पछि स्थानीयहरु समेत खुसी भएका छन । ढिलै भएपनि जनताको पिरमर्का बुझेको स्थानीयहरुको भनाई छ । गाउँघरमै सुरक्षित तरिकाले कोरोना परिक्षण गराउन पाउँदा खुसी भएको स्थानीयहरुको भनाई रहेको छ ।

समुदाय स्तरमै कोरोना भए नभएको पत्ता लगाउन तथा विरामीको प्रत्यक्ष सम्पर्कमा रहेको व्यक्ति र शंकास्पद तथा ज्वरो आएको रुघाखोकी लागेका व्यक्तिहरुको एन्टिजेन विधि मार्फत कोरोना परिक्षण सुरु गरिएको सिनियर अहेव भुवन भण्डारीले बताए ।

नेपाल सरकारले उपलब्ध गराएको एन्टिजेन किटबाट स्थानीय सरकारले निशुल्क रुपमा वडाका टोल—टोलमा कोरोना परिक्षण गर्न थालेपछि स्थानीयहरुमा उत्साह थपेको राप्ती गाउँपालिका २ नम्बर वडाध्यक्ष जगतबहादुर थापाले बताए ।

गाउँपालिकाको परिक्षण कार्यतालिका अनुसार लालमटिया स्वास्थ्य चौकीमा सार्वजनिक बिदा बाहेक हरेक दिन आवश्यकताको आधारमा साँझ ४ बजे देखि बेलुका ५ बजे सम्म, सिसहनिया स्वास्थ्य चौकीमा सार्वजनिक बिदा बाहेक हरेक दिन आवश्यकताको आधारमा बिहान ८ बजे देखि ९.३० बजे सम्म, खुरूरिया आधारभूत स्वास्थ्य केन्द्रमा जेठ २५ गते बिहान ८ बजे देखि ९ बजे सम्म, पत्थरगढवा सामुदािक स्वास्थ्य इकाई केन्द्रमा जेठ २४ गते बेलुका ४ बजे देखि ५ बजे सम्म र मौरीघाट सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा जेठ २५ गते बेलुका ४ बजे देखि ५ बजे सम्म परिक्षण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे