लुम्बिनी प्रदेशकाे तीन मन्त्रालय तत्काल स्थायी राजधानी देउखुरी सार्ने तयारी



लुम्बिनी प्रदेशकाे तीन मन्त्रालय तत्काल स्थायी राजधानी देउखुरी सार्ने तयारी

भालुवाङ २२ जेठ । लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रालयलाई स्थायी राजधानी देउखुरी सार्ने तयारी गरिएको छ । चालु आर्थिक वर्ष सकिएलगत्तै देउखुरीमा ग्रामीण तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले जानकारी दिए ।

अहिले अस्थायी राजधानी बुटवल मुकामका रुपमा रहेका मन्त्रालय, निर्देशनालय तथा अन्य कार्यालय स्थायी राजधानीमा स्थानान्तरणको योजना छ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश मन्त्रालयको कार्यालय स्थापना गर्न थालेको छ ।

पहिलो चरणमा तीन महत्वपूर्ण मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालिएको हो । भर्खरै मात्र राप्ती उपत्यका देउखुरी मौरीघाटमा ग्रामीण तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको छ । सङ्घीयता कार्यान्वयनका लागि प्रदेशको राजधानीले नयाँ सन्देश दिएको मन्त्री रिजालले बताए ।

अहिले देउखुरीमा पूर्वाधार निमार्णको काम शुरु गरिएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सभाहल निर्माणको काम शुरु गरिएको हो । सभाहल निर्माणका लागि रु पाँच करोड २१ लाखको लागतमा सुविधा सम्पन्न सभाहल निर्माणको काम शुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिए । चालु आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य रहे पनि लकडाउनका कारण निर्धारित समयमा सभाहल निर्माण सम्पन्न गर्न कठिनाइ हुने उनले बताए ।

स्थायी राजधानीको गुरुयोजना निर्माणको काम शुरु भएको छ । तीन कन्सलटेन्सी गुरुयोजना निर्माणका लागि छानिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । राजधानीको गुरुयोजनाले राप्ती, गढवा गाउँपालिका–१, २ र ३, अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८ र ९ लाई समेटनेछ । प्रशासकीय केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकूदलगायत सबै प्रकारको क्षेत्र तोक्ने र सोही अनुसार डिजाइन बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे