खाडीका दंगालीहरुको उदाहरणीय काम, गाँस काटेर दाङका अस्पतालहरुलाई सहयोग



खाडीका दंगालीहरुको उदाहरणीय काम, गाँस काटेर दाङका अस्पतालहरुलाई सहयोग

गढवा १७ जेठ । मध्य पुर्वका खाडी राष्ट्र कतार, युएइ, ओमन, साइप्रस, साउदी अरेबिया तथा बहराइन, मलेसिया तथा हङ्कङ, अष्ट्रलिया, पचुर्गल र जापानमा बस्ने दाङका प्रबासी नेपालीहरुले स्वदेशमा रहेका नागरिकहरुको कोभिड महामारीबाट जिवन रक्षार्थ सहयोग गर्ने क्रम जारी रहेको छ ।

बिदेशको पिडा त उसलाई मात्र थाहा हुन्छ जसले आफ्नो प्यारो मातृभूमि, घर–परिवार, इष्टमित्र र आफन्तलाई चटक्कै बिर्सेर खाडीको तातो रापमा आफ्ना दशऔंली नङ्ग्रा खियाएका हुन्छन् । स्वदेश र देशबासीको नाममा आफ्नो गास काटेर नेपालमा रहेका नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि कतार र युएइ लगायतका देशबाट कोभिड महामारीसंग जुध्न सहयोग आइरहेको दाङ देउखुरी सेवा समाजले जनाएको छ । समाजको अगुवाइमा बिभिन्न मूलुकमा कार्यरत दङ्गाली श्रमजीविहरुले रकम संकलन गरेर स्वदेशमा पठाइरहेको सल्लाहकार लिलाधर आचार्यले जानकारी दिएका छन् ।

यसै क्रममा दाङ देउखुरी सेवा समाज कतार र युएयले दाङ जिल्लाका ७ स्थानमा रहेका कोभिड बिशेष आइसुलेशन सेण्टरका लागि झण्डै २ लाख २० हजार रुपैयाँ अक्सीजन सिलिण्डर रिफिल तथा स्वास्थ्य सुरक्षा सामाग्रीका लागी सहयोग गरेको समाजका अध्यक्ष लिलामणि लामिछानेले जानकारी दिए । जस अनुसार बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालका लागि ५० हजार, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अक्सिजन प्लाण्टका लागि ५५ हजार, नेपाल पत्रकार महासंघ दाङ शाखाले संचालन गरेको कोरोना बिशेष आइसुलेसनका लागि २५ हजार अक्सिजन सिलिण्डर रिफिलका लागि प्रदान गरिएको समाजका कार्यालय ब्यवस्थापक बलदेव बिकले जानकारी दिए ।

यसैगरि पश्चिम दाङको हापुरेमा रहेको आइसुलेसन सेन्टर र शान्तिनगरमा रहेको आइसुलेसनका लागि पनि समजले १५÷१५ गरि ३० हजार लगत्तै प्रदान गर्ने तयारी भएको समाजका उपाध्यक्ष सुर्य सुवेदीले बताए । समाजले यस अघि देउखुरीको सिसहनियाँ स्थित कोरोना अस्थायी अस्पतालका लागि ९ थान अक्सिजन रिफिल गर्न भनि २० हजार नगद प्रदान गरेको थियो ।

भने आइतवार लमही नगरपालिकामा देउखुरीका चारवटै स्थानीय सरकारहरुले संचालन गरेको कोरोना बिशेष अस्पतालका लागि ४० हजार रुपैयाँ अक्सिजन रिफिल तथा स्वास्थ्य सुरक्षा सामाग्री खरिदका लागि प्रदान गरेको समाजका सल्लाहकार लिलाधर आचार्यले जानकारी दिए ।
आइतवार एक कार्यक्रमका बिच दाङ देउखुरी सेवा समाजद्धारा लमही नगरप्रमुख तथा देउखुरी क्षेत्र स्तरिय कोभिड अस्पतालका संयोजक कुलबहादुर केसीलाई नगद रकम प्रदान गरिएको बताएको छ । टोलीमा समाजका सल्लाहकार लिलाधर आचार्य, बिदेश बिभागका सदस्य इन्जीनियर बिष्णु केसी, समाजका कोषाध्यक्ष सुवास रजौरे, सदस्य युद्धबहादुर भुसाल र समन्वयकर्ताका रुपमा देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोखे्रल र पत्रकार शिबराज पन्थीको उपस्थिती रहेको थियो ।

समाजले २ बर्ष अगाडी देखि दाङ जिल्लामा एमबुलेन्स सेवा समेत संचालन गरेको र कोरोना महामारीको बेला पनि बिरामीहरुका लागि उपचारमा एम्बुलेन्स सेवा प्रवाह गरिरहेको समाजका कार्यालय ब्यवस्थापक बलदेव बिकले जानकारी दिए । कोभिड महामारी नियन्त्रण रोकथाम र सचेतनाका गतिविधिमा समेत समाजले नेपाल सरकारका स्थानीय अस्पतालहरुलाई सहयोग गर्ने क्रम जारी रहने कोषाध्यक्ष सुवास रजौरेले बताए । बिदेशमा रहेका समाजका साथीहरुले कठोर श्रम संग संघर्ष गर्दै आफ्नो गास काटेर रकम संकलन गरिरहेका छन् । कोभिड महामारीबाट नागरिकलाई बचाउन आवश्यक परेमा फेरि पनि सहयोग रकम आउने छ–रजौरेले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे