लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन : ४ मन्त्रीको मतदान रोक्न आयोगमा निवेदन



लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन : ४ मन्त्रीको मतदान रोक्न आयोगमा निवेदन

घाेराही १७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आइतबार मतदाता सूची सच्याएर अदालतमा मुद्धा विचाराधीन रहेका चार सांसदलाई मतदानको अधिकार दिएपछि निर्वाचन आयोगमा निवेदन परेको छ । विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे आयोगमा निवेदन दिएका हुन् ।

यता दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा विहान ९ बजेबाट मतदान गर्ने क्रम जारी छ । निर्वाचन आयोगले अन्तिम समयमा ४ जनालाई मताधिकार दिने निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै निवेदन दिएको माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए ।

उनले भने, ‘हाम्रो उम्मेदवारले निवेदन दिनु भएको छ तर निर्वाचन आयोगबाट कुनै प्रतिकृया आएको छैन ।’ पार्टीले कारवाही गरेपछि जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।

पदमुक्त भएपछि उनीहरु सर्वोच्च अदालत गएका थिए । अदालतले अन्तरिमकालीन आदेश दिँदै पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आधारमा अन्तिम नामावली प्रकाशित हुँदा चार मन्त्रीहरुको नाम थिएन तर हिजो साँझ आयोगले उनीहरुको पनि नाम समावेश गरेको सूचना जारी गरेपछि विपक्षी गठबन्धनले विरोध गरेको छ । एमालेबाट चन्द्रबहादुर खड्का र काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय सम्मिलित गठबन्धनबाट काँग्रेसका पाण्डेले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे