आज २५६५ औं बुद्ध जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना



आज २५६५ औं बुद्ध जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना

काठमाडौं १२ जेठ । आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ ।

भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । तर कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।

यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ । सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गत वर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको थियो । कोरोना महामारीका कारण स्वदेश र विदेशबाट राष्ट्रप्रमुख, भिक्षु भिक्षुणी, कूटनीतिज्ञ र बौद्ध धर्मावलम्बीहरु सहभागी हुन नसक्ने भएकाले पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

विगतका वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सहित भव्य रूपमा बुद्धजयन्ती मनाउने गरिन्थ्यो । ‘यस वर्ष भव्य रूपमा मनाउने तयारी थियो, तर कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि औपचारिक कार्यक्रम गरेर मनाउन नसक्ने भयौं’ कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले भने । बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश वाचन र परित्राण पाठ तथा साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको राईले बताए ।

यता राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् ।

शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् ।

सम्पूर्ण विश्वयले कोभिड-१९ का महामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउने आशा व्यक्त गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेकी छन् ।

वैशाख शुक्लपक्ष पूर्णिमा तिथिको दिन बौद्धदर्शनका प्रवत्र्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म¸ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्विभरका बौद्ध धर्मावलम्बीद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ ।

त्यस्तै, राष्ट्रपतिले किराँत समुदायको महान् पर्व उभौलीका शुभअवसरमा आजै स्वदेश तथा विदेशका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे