बुद्धजन्मस्थलबारे पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्री ओलीको आग्रह



बुद्धजन्मस्थलबारे पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं १२ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् । उनले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही भएको बताएका छन् ।

दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा सन्देश दिंदै प्रधानमन्त्री ओलीले ‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’

‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो,’ उनले भनेका छन् । उनले विभिन्न धार्मिक असहिष्णुता र धार्मिक संकीर्णताले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भएको र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिएको बताएका छन् ।’

‘तर बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन,’ उनले लेखेका छन् । उनले सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तरराष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोभिड–१९ का कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे