बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु



बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

नेपालगञ्ज २४ वैशाख ।  बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालका एक चिकित्सक बताउँछन् । ‘३/४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन्,’ शुक्रबार उनले भने, ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’

अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् । स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे