राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा
भालुवाङ १ असार । दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएको छ।
संस्थागत प्रसुतिसम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरु पूरा गरेपछि आइतबार एक औपचारिक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेका हुन्। निर्धारित प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच गराउने दर ९९ दशमलव ६ प्रतिशत, तीन पटक उत्तरप्रसूति जाँच गराउने दर ९९ दशमलव ३ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिने दर शतप्रतिशत तथा घरमा हुने प्रसुति शून्य रहेको पाइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका सबै ५ सय ७७ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामै प्रसुति सेवा लिएका थिए। तीमध्ये जटिल अवस्था भएका ४८ जनालाई थप उपचारका लागि जिल्ला बाहिरका स्वास्थ्य संस्थामा रिफर गरिएको थियो। राप्ती गाउँपालिकाले विगत केही वर्षदेखि क्रमशः विभिन्न वडालाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्दै आएको थियो।गाउँपालिकाअन्तर्गत लालमटिया स्वास्थ्य चौकी, भालुबाङ र राप्ती आधारभूत अस्पताल कालापानीमा बर्थिङ सेन्टर सञ्चालनमा छन्। साथै भालुबाङमा प्रादेशिक अस्पताल स्थापना भएपछि त्यहाँबाट समेत प्रसुति सेवा उपलब्ध हुँदै आएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय प्रजनन स्वास्थ्य समन्वय समितिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा स्वास्थ्य मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री घिमिरेले मातृ तथा शिशु स्वास्थ्य सुधारका क्षेत्रमा राप्ती गाउँपालिकाले हासिल गरेको उपलब्धि अनुकरणीय रहेको बताए। उनले संस्थागत प्रसुतिलाई दिगो बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
मन्त्री घिमिरेले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै प्रदेश सरकारले मातृ तथा शिशु स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए। स्वास्थ्य संस्थाको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणमार्फत नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष विष्टले पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा हुनु सम्पूर्ण राप्तीवासीको साझा उपलब्धि भएको बताए। उनले गर्भवती आमाहरूले स्वास्थ्य संस्थामाथि विश्वास गरेको, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सबै तहका सरकारको समन्वय र प्रतिबद्धताले यो सफलता सम्भव भएको उल्लेख गरे। उनले अब शून्य मातृ मृत्यु र शून्य नवजात शिशु मृत्युको लक्ष्यतर्फ अघि बढ्नुपर्ने बताउँदै भालुबाङ अस्पताललाई प्रदेशकै नमूना तथा सुविधास म्पन्न अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारसँग विशेष पहल, पर्याप्त बजेट, विशेषज्ञ जनशक्ति तथा अत्याधुनिक उपकरण व्यवस्थापनको माग गर्नुभयो। साथै स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ आयुर्वेद विज्ञ डा. दिवाकर ठाकुर, स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य प्रशासक ठगबहादुर गुरुङ तथा सामुदायिक स्वास्थ्य निरीक्षक रीता न्यौपानेलगायतले संस्थागत प्रसुतिले मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस उपलब्धिलाई दिगो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए। सो अवसरमा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत पोषणराज शर्मा र प्रतिमा विष्टले गरेका थिए।
