प्रदेश राजधानी देउखुरीको विकासलाई प्रमुख प्राथमिकता राखेर बजेट बिनियोजन गर्न मञ्चको माग
देउखुरी २६ जेष्ठ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा क्रियाशिल पत्रकारहरुको साझा संस्था राप्ती प्रेस मञ्चले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको समग्र विकासमा प्रदेश सरकारको बजेटले उच्च प्राथामिकता पाउनुपर्ने माग गरेका छन् । मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको नेतृत्वमा मञ्चका पदाधिकारी र सदस्यहरुको टोलीले आज मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्य र सम्बन्धित मन्त्रीहरूलाई भेट गरी समग्र राजधानी क्षेत्रको विकासका लागि दीर्घकालीन तथा परिणाममुखी योजना र बजेट बिनियोजन गर्न माग गरेका हुन् ।

मञ्चले राजधानी क्षेत्रको विकासका लागि १० वुँदे माग अघि सारेको छ । जसमा लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीको लाण्डपुलिङ्गको कार्य यथाश्रिघ अगाडी बढाउन आगामी आर्थिक बर्ष २०८३/०८४ मा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने, भालुवाङ अस्पताल र सिसहनियाँमा रहेको राप्ती आधाभूत अस्पतालको स्तरबृद्धि गरी आईसियू र भेन्टिनेटर सहितको सुविधाको व्यवस्था गर्नुपर्ने, राजधानी क्षेत्रको दीर्घकालिन फोहोर व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, राजधानी क्षेत्र राप्ती उपत्यकामा सुविधा सम्पन्न बल्ड बैंक, डाइलेसिस सेन्टरको स्थापना संगै दमकल र शब बहानको व्यवस्था गर्नुपर्ने, उत्पादनमा आधारित रोजगारीमूलक कार्यक्रममा आवश्यक बजेट विनियोजन गर्नुपर्ने र युवा स्वरोजगारमूलक कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै मञ्चले राजधानीक्षेत्रका धार्मिक तथा पर्यकीय क्षेत्रहरु (गोबरडिहाको जंगलकुटी धार्मिकस्थल, कुलपानी हरित पार्क बड्हरा, हर्षेडाँडा, भालुवाङको ग्रीन पार्क, देविकोटको भद्राक्षी देवीको मिन्दर, खौराहाबाबा कालापानी, भुल्के धार्मिक पार्क र शिबसवरी धाम पहरुवा) लगायतका स्थानको थप पूर्वाधार विकासका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने, राप्ती प्राविधिक शिक्षालयलाई थप प्रबिधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, कृषिलाई थप आधुनिकरण बनाउन र उत्पादन बृद्धिका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने र महिला, बालबालिका, युवा, जेष्ठ नागरिक, अपाङता भएका नागरिक र योनिक अल्पसंख्यक समुदायको क्षमता विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने योजनाहरुमा बजेट बिनियोजन गर्न माग गरेको छ ।

यस्तै मञ्चले सञ्चार क्षेत्र तर्फ पत्रकार दुर्घटना बिमा, संसदीय पत्रकारिता तालिम, खोज तथा विकास पत्रकारिता तालिम, रेडियो, टिभी तथा रंगमञ्च उद्घोषण तालिम, रेडियो, टिभी तथा रंगमञ्च उद्घोषण तालिम, राप्ती प्रेस मञ्चको कार्यालय व्यवस्थापन र सञ्चारमैत्री अवलोकन भ्रमणमा आवश्यक बजेट बिनियोजन गर्न समेत माग गरेको छ ।
यसैबीच मञ्चको माग—पत्र ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको विकासमा प्रदेश सरकार निकै गम्भीर रहेको बताए । उनले यस पटक राजधानीबासीलाई अनुभूति हुने गरी योजना तथा कार्यक्रम समावेश गरिने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री आचार्यले पत्रकारहरुले समेत राजधानी क्षेत्रको विकासप्रति चासो र चिन्ता व्यक्त गरेकोमा खुसी व्यक्त गरे । उनले यस पटक बजेट निर्माणमा प्रदेश सरकार बढी गम्भीर रहेको र नागरिकहरुबाट सुझाब संकलन गरिरहेको बताए ।

मञ्चको टोलीले मुख्यमन्त्री आचार्य सहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालय भण्डारीलाल अहिर, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कृषि, भूमि तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरी, भौतिक पूर्वाधार मन्त्री रत्न खत्री र स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेलाई भेटेरै उक्त माग—पत्र बुझाएको हो ।
माग—पत्र बुझाउन जानेमा मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, खुल्ला उपाध्यक्ष भिसुन शाही, महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, सचिव श्रीधर कँडेल, कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्यहरु बिदुर एमसी, मुक्तिराम पौडेल, किरण जिसी, मोतीराम भट्टराई, दिपक चौधरीको उपस्थिती रहेको थियो । 






