पत्रकार महासंघ लुम्बिनी प्रदेशद्वारा लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा धर्ना
देउखुरी १ असार । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले संघीय सरकारले सञ्चार माध्यम माथि लगाएको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा धर्ना दिएको छ । पत्रकार महासंघको केन्द्रीय समितीद्वारा पूर्व घोषित कार्यक्रम अन्तर्गत पत्रकार महासंघ लुम्बिनी प्रदेश समितीले पनि प्रदेश सरकारको प्रशासनिक मुल गेट राप्ती उपत्यका देउखुरीमा धर्ना दिएको हो ।
धर्नापछि मुख्यमन्त्री चेतनारायण आचार्य संग भेटघाटमा मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण, प्रवद्र्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताए । उनले पत्रकारहरूको जायज मागप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । मुख्यमन्त्री आचार्यले मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र निरंकुशता हावी हुने खतरा बढ्ने उल्लेख गर्दै सही र गलत विषयबारे जनतालाई सचेत गराउने तथा समाजको आँखा खोल्ने महत्वपूर्ण भूमिका सञ्चार क्षेत्रले निर्वाह गरिरहेको बताए ।

भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायतले सञ्चार क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक संकटका विषयमा धारणा राखेका थएि । कार्यक्रमको सहजीकरण महासंघका प्रदेश महासचिव पाण्डवप्रसाद शर्माले गरेका थिए ।

