आफूले चढ्दै आएकाे गाडीलाई एम्बुलेन्स बनाउँदै जनप्रतिनिधि
काठमाण्डाै २४ बैशाख । कोरोना भाइरस सङ्क्रमित तथा अरू बिरामीको उपचारका लागि स्रोत साधनको अभाव बढ्दै गएका बेला केही पालिकाका जनप्रतिनिधिले आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् । सङ्खुवासभाको चिचिला, डोटीको बोगटान फुड्सिल गाउँपालिका तथा डडेलधुराको अमरगढी र रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका हुन् ।
प्रसुतिलगायतका बिरामीको उपचारका लागि अस्पताल पुग्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालेको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताउनुभयो । चिचिला गाउँपालिकामा रहेको एउटा एम्बुलेन्सले भने कोरोना सङ्क्रमितलाई बोक्ने गरेको छ ।
यस्तै आफूले प्रयोग गर्ने गाडीलाई बिरामी बोक्न प्रयोग गर्ने निर्णय भएको डोटीको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले जानकारी दिए । गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको र त्यसले मात्रै सुविधा दिन नसक्ने भएकाले गाउँपालिकाको गाडी नै प्रयोग गर्ने निष्कर्षमा पुगेको उनले बताए ।
यस्तै डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा र उपप्रमुख सङ्गीता भण्डारीले प्रयोग गर्दै आएको गाडी कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पुर्याउन प्रयोगमा ल्याइने भएको छ ।नगरपालिकाको टिपरलाई शववाहन बनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले आफू चढ्दै आएको गाडी कोरोना सङ्क्रमित बिरामी बोक्ने एम्बुलेन्सको रूपमा प्रयोग हुने भएको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले अस्पताल लैजान एम्बुलेन्सको अभाव भएको र गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।