रोल्पामा वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा
रोल्पा २१ बैशाख । कोरोना भाइरस सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को साेमवार (आज) बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदाे जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएकाे रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । कसैलाई जिल्ला छोड्नुपर्ने वा अर्काे ठाउँ जानुपर्ने भए २४ घण्टाभित्र जान समय दिइएको पनि प्रजिअ सापकोटाले जानकारी दिए ।
रोल्पामा अहिलेसम्म ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । गङ्गादेव गाउँपालिकामा ५० बढी सङ्क्रमित भेटिएको र एक जनाको ज्यान गएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।