गढवाको संस्थागत क्षमता स्वमुल्यांकन कार्यशाला सुरु



गढवाको संस्थागत क्षमता स्वमुल्यांकन कार्यशाला सुरु

देउखुरी ६ बैशाख । गढवा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी प्रशासनद्धारा सम्पादन गरिएका सेवा प्रवाह लगायतका बिषयमा संस्थागत क्षमता स्वमुल्यांकन कार्यशाला सोमवारदेखि सुरु भएको छ । नेपाल सरकार संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको समन्वय तथा सहयोग र गढवा गाउँपालिकाको आयोजनामा चार दिने कार्यशालाको सोमवार उद्घाटन गरिएको हो ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको कार्यशालामा गाउँकार्यपालिकाका जनप्रतिनिधीहरु, बिषयगत शाखाका प्रमुखहरु र वडा सचिवहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली र अधिकारकर्मी तथा स्वतन्त्र बिज्ञ बिनोद केसीले गरेका छन् । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधी र कर्मचारी प्रशासन बीचको समन्वय र सहकार्यलाई जोडदिदै नागरिकहरुलाई प्रभावकारी सेवा प्रबाह गर्नु र कमीकमजोरीहरुलाई सच्याएर अधि बढ्न स्वमुल्यांकन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा संचालन भएको कार्यक्रममा जानकारी गराइएको हो ।

कार्यशालामा संस्थागत क्षमता स्वमुल्यांकन कार्यबिधि बमोजिम संबैधानीक बित्त आयोग अन्तर्गत कार्यसम्पादनको स्तर मापन गर्ने बताइएको छ । स्थानीय तहबाट प्रबाह गरिएका सेवा प्रबाहलाई फोकस गदै शासकिय प्रबन्ध र संगठन तथा प्रशासन,सार्वजनिक सेवा प्रबाह र समन्वय सहकार्य तथा बार्षिक बजेट तथा योजना ब्यवस्थापनका बारेमा स्वमुल्यांकन गरिने सहजकर्ता नेवबहादुर ओलीले जानकारी दिए । यसैगरी गाउँपालिकाले सम्पादन गरेका भौतिक पुर्वाधार तथा न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण र वातावरण तथा बिपद् ब्यवस्थापन लगायत १० वटा बिषय क्षेत्र र १ सय सुचकमा छलफल गरि तथ्य र आधार सहित पगतिका आधारमा मापन गरिने गाउँपालिकाले जनाएको छ ।

विगतमा गरिने न्यूनतम कार्यसम्पादन तथा मुल्यांकन जस्तै यो कार्यशालाको रुप भएको र मापन अंकका आधारमा स्थानीय तहको अनुदान बजेट निर्धारणमा समेत सहयोग पुग्ने कार्यक्रमको लक्ष्य रहेको सहजकर्ता ओलीले कार्यक्रमका सहभागिहरुलाई जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीको स्वागत मन्तब्यबाट सुरु भएको चारदिने कार्यशाला उद्घाटनको संचालन प्रशासन शाखाका प्रमुख पुनाराम शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे