पत्रकारहरुको सुरक्षा, क्षमता विकास र दिगोपनाका लागि भुमिका खेल्छु : अध्यक्ष केसी



पत्रकारहरुको सुरक्षा, क्षमता विकास र दिगोपनाका लागि भुमिका खेल्छु : अध्यक्ष केसी

गत चैत्र २५ गते भएको नेपाल पत्रकार महासंघ दाङको चुनावमा अध्यक्ष पदमा कान्तिपुर दैनिकका उपसम्पादक तथा बिभिन्न शैक्षिक संस्थामा अध्यापन गराउँदै आउनुभएका बौदिक ब्यक्तित्व दुर्गालाल केसीले जित्नुभयो । अब उहाँका एजेन्डा लगायत पत्रकारका हकहितका लागि कसरी काम गर्नुहुन्छ भन्ने बिषयमा देउखुरी टुडेका प्रबन्ध सम्पादक दिपक वलीले गर्नुभएको कुराकानीको सारसंक्षेप

१) सर्वप्रथम यहाँलाई बधाई तथा साझा टाइम्स अनलाइनमा स्वागत छ ?
धेरै धेरै धन्यवाद ।

२) नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा निर्वाचित हुनुभयो । यहाँलाई कस्तो अनुभव भइरहेको छ ?
मैले धेरै नै जिम्मेवारी बोध गरेको छु । पत्रकारहरुको साझा संस्थाको नेतृत्व गर्ने अवसर पाएको छु । मलाई पत्रकार महासंघको अध्यक्षमा निर्वाचित गर्ने सबै पत्रकारहरुको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको महशुस भएको छ । पत्रकार र पत्रकारिताको विकासका लागि केही उदाहरणीय काम गर्ने अवसरका रुपमा यो जिम्मेवारीलाई वहन गरेको छु ।

३) श्रमजीवि पत्रकारहरुको हकहितका लागि आगामी योजना के छ ?
मेरो मुख्य जोड श्रमजीवि पत्रकार माथि नै छ । श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन भूमिका खेल्दै पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता विकास र पेशामा दिगोपनाका लागि बिभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको छु । पत्रकारहरुको क्षमता विकासका लागि बिभिन्न तालिमहरु सञ्चालन गर्ने र पत्रकारिताको गुणस्तर बृद्धि गर्दै पत्रकारलाई आर्थिकरुपमा सशक्त बनाउन लेखनवृत्तीका कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छु ।

४) प्रायजसो मिडियाले पत्रकारहरुलाई प्रयोग गर्छन् तर भने अनुरुप पारिश्रमिक दिदैनन् यस्तो अवस्थामा हजुरको भुमिका के हुन्छ ?
पत्रकारहरुले श्रमको उचित मूल्य पाउनुपर्छ । हरेक सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई काम अनुसारको सुबिधा दिनैपर्छ । यदी कुनै पनि पत्रकारले उचित पारिश्रमिक र सेवा सुविधा नपाउने अबस्थामा भएमा हामी पत्रकार महासंघबाट नेतृत्व गरेर सञ्चार माध्यमलाई श्रमजीवी पत्रकारप्रति गम्भिर र जवाफदेही बनाउन भूमिका खेल्छौं ।

५) अनलाइन पत्रकारितालाई थप प्रभावकारी बनाउन के गर्नुपर्ला ?
अहिले अनलाइन पत्रकारिताको तिव्र विकास सँगै धेरै विकृती र समस्याहरु पनि थपिरहेका छन् । अनलाइन पत्रकारिताको गुणस्तर बृद्धि गर्दै यसको प्रभावकारिता बढाउन हामी सबै अनलाइन पत्रकारहरुसँग छलफल गर्छौं । अनलाइनलाई पत्रकारिताका मूल्य, मान्यता र अचारसंहिताबारे अभिमुखिकरण गर्दैैै जिम्मेवार पत्रकारिता बनाउन प्रेरित गर्छौं ।

६) आर्थिक अवस्था कमजोर भएका पत्रकारहरुको लागि केहि राहतका कार्यक्रम आउछन कि आउँदैनन् यदि आउँछन भने कस्ता राहत प्याकेजहरु आउँछन ?
पत्रकारहरुलाई आपतकालिन अबस्थामा सहयोग गर्न सकियोस् भनेर एउटा पत्रकार सुरक्षा कोष स्थापना गर्दैछौं । यसबाट पत्रकारलाई कुनै पनि आकस्मिक समस्या परेमा राहत उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

७) मिडियाको बिषयमा कुरा गर्दा मिडियाको मुख्य आयश्रोत भनेकै बिज्ञापन हो तर ठुला मिडियाले बिज्ञापन पाउने सानाले नपाउने भइरहेको छ यसले गर्दा साना मिडियालाई धेरैनै समस्या हुने गरेको छ यसलाई कसरी मिलाउन सकिन्छ ?
हामी विज्ञापनदाता, बिभिन्न व्यवसायी र उद्योगीहरुसँग छलफल गरेर सबै मिडियालाई गुणस्तर र प्रभावकारिताका आधारमा विज्ञापन उपलब्ध गराउन पहल गर्छौं । पत्रकार मात्रै होइन मिडिया बलियो बनाउन पनि हामी समन्वयकारी भूमिका खेल्छौं । यसका लागि जिल्लाका विज्ञापन जिल्लाकै मिडियामा भन्ने अभियान पनि सञ्चालन गर्छौैं ।

८) जिल्लामा पत्रकार तथा पत्रकारितालाई मर्यादित बनाउन के कस्ता काम गर्नु पर्ला ?
पत्रकार र पत्रकारितालाई मर्यादित गराउन शुद्धिकरण, क्षमता विकास, पत्रकारिताका मूल्य मान्यताबारे अभिमुखिकरण जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ । पत्रकारिताका पछिल्ला विकास र प्रवृत्तीहरुबारे न्यूज फेष्टिवेल मार्फत बहस गरिनेछ ।

९) चुनाव जित्नु अघि तय गरिएका हजुरका चुनावी एजेन्डा सबै पुरा हुन्छन ?
मैले निर्वाचनका क्रममा सार्वजनिक गरेका सबै एजेण्डाहरु पूरा गर्ने गरी योजना बनाउँदैछु । सबै पत्रकारहरुसँग छलफल गरी थप कार्यक्रमहरु समेत समावेश गरी प्रतिवद्धता गरे अनुसार काम गर्ने तयारीमा छु । सबै योजनाहरु पूरा हुनेमा विश्वस्त छु ।

१०) अन्तिममा मैले सोध्न भुलेको र हजुरलाई भन्न मन लागेको केही छ ?
मलाई आफ्ना विचार राख्ने अवसर दिएकोमा धेरै धेरै धन्यवाद छ । पत्रकार र पत्रकारिताबारे नियमित बहस र छलफल जरुरी छ । आगामी दिनमा पनि यस्ता बहस र छलफल चलाइरहन आबश्यक छ । यसमा सबै पत्रकार र मिडियाहरुको ध्यान जान जरुरी छ ।

११) हवस्त हजुरको अमुल्य समयका लागि धन्यबाद ?
मलाई आफ्ना योजना र विचारहरु राख्ने अवसर दिनुभएकोमा म आभारी छु ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे