LISTEN LIVE RADIO

पाल्पाको तानसेन स्थित तिन्टीआँपमा दोस्रो कृषि मेला प्रदर्शनी सम्पन्न (फोटो फिचर सहित)



पाल्पाको तानसेन स्थित तिन्टीआँपमा दोस्रो कृषि मेला प्रदर्शनी सम्पन्न (फोटो फिचर सहित)

पाल्पा ४ चैत । पाल्पाको तानसेन नगरपालिका—९, तिन्टीआँपमा एक दिने दोस्रो कृषि मेला तथा प्रदर्शनी २०८० सम्पन्न भएको छ । “कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त गरौं” भन्ने मूल नाराका साथ मदनपोखरा संगम बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं ९ को प्रर्वद्धनात्मक सहयोगमा कृषि मेला सम्पन्न भएको हो ।

मेलाको उद्घाटन गर्दै पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले यस्तो खालको कृषि कार्यक्रमले किसानको श्रम, बजार व्यवस्थापन र सम्मान सघाउ पुग्ने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद गैरेले अहिले सरकार निति तथा कार्यक्रम बनाउने तयारीमा लागेको बताउँदै आफुले कृषि क्षेत्रको विकास र किसानका समस्याका बिषयमा आवाज उठाउने बताए । सांसद गैरेले कृषि क्षेत्रमा मदनपोखराले देशमै छुट्टै पहिचान बनाएको कुरामा जोड दिदै २००८ साल तिरै भएको कृषि आन्दोलन मदनपोखरा बाटै सुरु भएकोमा मदनपोखरेलीमा सधै गर्व गर्न सकिने बताए ।

यस्तै संविधानसभा सदस्य तथा नेपाल सरकारका पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले कृषि क्षेत्रको विकासका लागि राज्यका तीनैतहका सरकार गम्भीर हुनुपर्ने बताए । उनले कृषि क्षेत्रको विकासले मात्र देश समृद्ध हुने बताउँदै कृषि क्षेत्रको विकासलागि लागि कसैलाई पन्छिन छुट नभएको समेत बताए । संविधानसभा सदस्य पाण्डेले मदनपोखराले कृषि क्षेत्रमा गरेको लगन, परिश्रमले गर्दानै आजको मदनपोखरामा परिचित भएको बताउदै यहाँका कृषकहरुको दुखसुखमा आफू सधै साथमा रहेको बताए ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ तानसेनमा कृषि क्षेत्रको विकासका लागि किसानहरु संग ब्यापक छलफल गरी कृषि हाट बजार देखि अन्य क्षेत्रमा नगरपालिकाले पूणर् सहयोग गर्ने बताए । उनले कृषि क्षेत्रको विकास नै नगरको विकास भएको बताउँदै कृषि क्षेत्र नगरपालिकाको प्रमुख प्राथमिकताको बिषय भएको समेत बताए ।

सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षतामा भएको मेला उद्धाटन कार्यक्रममा जिल्ला संमन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, संमन्वय समितिकै उप—प्रमुख काशिका ज्ञवाली, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, माथागढी गाँउपालिका अध्यक्ष यमबहादुर चिदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना लगायत बक्ताले कृषि क्षेत्रमा भएका समस्याहरुका बारेमा सबै सम्बन्धित निकाय गम्भीर भएर लाग्नु पर्ने बताउँदै एउटा कृषकलाई म कृषक हुँ भनेर गर्व गर्नको लागि सबैको सहयोग हुनुपर्ने बताएका थिए ।

सो अवसरमा मदनपोखरामा कृषि क्षेत्रमा अमूल्य योगदान पुर्याउनु भएका चार जना कृषकहरुलाई सम्मान समेत गरिएको छ । यसरी सम्मानित हुनेहरुमा एकप्रसाद भण्डारी, धुव्रप्रसाद भण्डारी, इन्द्रप्रसाद पौड्याल र रोमबहादुर राना रहेका थिए । मेलामा खाद्यान्न, तरकारी, फलफुल, दलहन बाली, तेलहनका सामाग्री प्रर्दशनमा राखिएको राख्नुका साथै केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका विरुवा र घरेलु कृषि औजार समेत प्रदर्शनीमा राखिएका थियो ।

त्यस्तै मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण, बीउविजन, नर्सरी विरुवा प्रदर्शनी तथा बिक्रीवितरण स्टल राखिएको संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताए । किसानको मेहनतलाई सम्मान गर्न र थप उत्साहित बनाउन मेला आयोजना गरेको तानसेन नगरपालिका—९ नम्बर वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । उनले मदनपोखराका किसान मेहनती, परिश्रमी स्वालम्बी, र पौरखी भएको बताउँदै किसानले गरेको कृषि कर्मलाई प्रोत्साहन दिन उनीहरूकै प्रत्यक्ष सहभागीतमा कृषि मेला तथा प्रदर्शनी गरिएको बताए । वडाध्यक्ष अर्यालले कृषि उत्पादन बढाउन र परनिर्भरता अन्त्य गर्न वडा विस्तृत योजना बनाएर अगाडि बढेको समेत बताए ।

मेलामा बिभिन्न टोल विकास संस्था, विद्यालय र वन समूह र क्लबहरुले झाँकी समेत प्रर्दशन गरेका थिए भने विभिन्न बिद्यालयले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । मेलामा राष्ट्रिय ख्याति प्राप्त कलाकार पशुपति शर्माले मेलामा सांगीतिक प्रस्तुती समेत दिनुभएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरे र संविधानसभा सदस्य सोमप्रसाद पाण्डे सहितका नेताहरु समेत छमछमी नाचेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका छवी भट्टराईले गरेका थिए ।

(फोटो फिचर सहित)

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे