LISTEN LIVE RADIO

हिउँदमा पनि राप्तीको बाउनेपाटा र माछीतालमा सिचाई सुविधा पुगेपछि गाउँ नै हरियाली



हिउँदमा पनि राप्तीको बाउनेपाटा र माछीतालमा सिचाई सुविधा पुगेपछि गाउँ नै हरियाली

भालुवाङ १५ पुस । दाङ—देउखुरीको राप्ती गाउँपालिका वार्ड नम्बर २ बाउनेपाटाकी सिता पुनलाई आजभोली कामले भ्याईनभई छ । कुनै समय हिउँदको मौसममा भान्साको काम सकाएर घाम तापेर बस्ने सितालाई अहिले भने कामले फुर्सद छैन । उनको बारीमा यो हिउँदको मौसममा समेत पुरै हरियाली नै हरियाली छ । उनको बारीमा अहिले लटरम्ब टमाटर, सिमी, फूल गोभी, बन्दा गोभी, भान्टा, साग लगायतका तरकारी फलाएकी छिन् ।

जसले गर्दा सितालाई आज कामले फुर्सद नपाएकी हुन् । उनी जस्तै बाउनेपाटा गाउँका काली बुढामगर, तेरमणि सुनारीमगर र गेहरसिंह तारनमगरलाई पनि खेतबारीको कामले फुसर्द छैन । उनीहरु अहिले आफ्नो खेतमा गहुँ, तोरी, केराउ खेती गरेकी छिन् भने बारीमा तरकारी खेती गरेका छन् । जसले गर्दा बर्षेनी हिउँदमा बाउनेपाटा गाउँको खेतबारी बाँझो हुने गथ्र्यो भने यो बर्षको हिउँदमा भने खेतबारी पुरै हरियाली भएको देख्न सकिन्छ ।

कुनै समय बाउनेपाटा गाउँका महिलाहरु भान्सको काम सकाएर गफ गर्दै घाम ताप्ने र पुरुषहरु तास खेलेर बस्ने गर्थे तर अहिले भने घाम तापेर बस्ने महिला र तास खेलेर बस्ने पुरुषहरु खेतबारीको कामले भ्याइनभ्याइ छ । उनीहरु यो हिउँद मौसममा पनि आफ्नो गाउँ हरियाली भएको देख्दा दंग परेका छन् । उनीहरुले खोलाको पानी आफ्नो बारी सम्म ल्याएर खेती गर्ने कल्पना सम्म नगरेका बाउनेपाटा र मछितालाका गाउँलेहरु यति बेला दिउँसै सपना देखेको अनुभूति गरेको बताउँछन् ।

गाउँ देखि नै तला परेको घोस खोलाबाट यसरी पानी ल्याएर खेती गरौँला भन्ने कहिलै परिकल्पना समेत गरेका थिएनौँ तर आज त्यो खोलाबाट पानी ल्याएर खेतीपाती गर्न पाउँदा एकदमै उत्साहित भएको बाउनेपाटाका किसान तेरमणि सुनारीमगर बताउँछन् । अब हामीले महेन्त गरेर प्रशस्त तरकारी फलाएर नजिकको बजारमा बच्ने र मग्ने आम्दानी गर्ने बताए ।

राप्ती गाउँपालिका वार्ड नम्बर २ को बाउनेपाटा र वार्ड नम्बर १ को माछीतालबासीको सपनालाई नामसालिङ्ग सामुदायिक विकास केन्द्र इलामले पुरा गरिदिएको छ । राप्ती गाउँपालिकाको साझेदारीमा नामसालिङ्ग सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिका वार्ड नम्बर २ को बाहुनेपातामा बाहुनेपाता सौर्य उर्जा लिप्टङ्ग सिचाई आयोजना सञ्चालन गरेर खोलाको पानी गाउँको खेतबारी सम्म पुर्‍याइदिएको हो ।

राप्ती गाउँपालिकाको १५ लाख, नामसालिङ्गको १९ लाख ७० हजार र स्थानीय जनश्रमदान गरी कुल ४० लाखको लागतमा उक्त सिचाई योजना निर्माण भएर सञ्चालनमा आएपछि बाउनेपाटाको खेतबारीमा प्रशस्त सिचाई सुबिधा पुगेको नामसालिङ्ग सामुदायिक विकास केन्द्र परियोजन कार्यालय दाङका कार्यक्रम संयोजक शंशाकबाबु आचार्यले जानकारी दिए । १८ किलो वाट क्षमताको सौर्य उर्जा जडान गरेर साढे १७ एचपीको मोटरबाट पानी तानेर किसानका खेतबारी सम्म पानी पुर्‍याउने गरेको कार्यक्रम संयोजक आचार्यले बताए । उक्त सिचाई योजनाले बाउनेपाटा गाउँका ३८ घरधुरी प्रत्यक्ष लाभन्दित भएका छन् ।

यता राप्ती गाउँपालिका वार्ड नम्बर १ को माछीतालमा माछिताल सामुदायिक सौर्य पम्प सिचाई योजना सञ्चालन गरेर सिचाई सुविधा पुर्‍याइएको छ । ७.८ किलो वाट क्षमताको सौर्य उर्जा जडान गरेर साढे ७.५ एचपीको मोटरबाट लिप्टङ्ग सिचाई मार्फत सिचाई सुबिधा पुर्‍याइएको नामसासलिङ्ग परियोजन कार्यालय दाङका कार्यक्रम संयोजक आचार्यले जानकारी दिए । सिचाई सुविधापछि माछीताल गाउँ पछिल्लो समय हरियाली भएको छ । प्रत्येकले आ—आफ्नो घर अगाडी करेसाबारी बनाएर व्यवसायिक तरकारी खेती समेत शुरु गरेका छन् ।

उक्त सिचाई सुविधाबाट माछीताल गाउँका २० घरधुरी प्रत्यक्ष लाभन्दित भएका छन् । उक्त परियोजनाका लागि राप्ती गाउँपालिकाको ९ लाख ३३ हजार ५ सय ५५ रुपैयाँ, नामसालिङ्गको ६ लाख र स्थानीय जनश्रमदान २ लाख ७० हजार ६ सय २६ रुपैयाँ गरी कुल १८ लाख ४ हजार १ सय ७६ रुपैयाँको लागतमा उक्त सिचाई योजना सम्पन्न भएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिए ।

यता राप्ती गाउपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले माछीताल र बाउनेपाटाका किसानहरुलाई अब तालिम र सिप सिकाएर व्यवसायिक बेमौसमी तरकारी खेतीका लागि पहल गर्ने बताइन् । साथै उनले किसानले उत्पादन गरेका तरकारी बजार सम्म पुर्‍याउन पालिकाले समेत सहयोग गर्ने बताइन् ।

राप्ती गाउँपालिकाद्धारा बाहुनेपाता र माछीतालमा सञ्चालित सौर्य उर्जा लिप्टङ्ग सिचाई योजनाको अनुगमन

यसैबीच राप्ती गाउँपालिकाद्धारा उक्त सौर्य उर्जा लिप्टङ्ग सिचाई योजनाको अनुगमन गरिएको छ । राप्ती गाउँपालिका वार्ड नम्बर २ को बाउनेपाटा र वार्ड नम्बर १ को माछीताल गाउँमा सञ्चालित सौर्य उर्जा लिप्टङ्ग सिचाई आयोजनाको अनुगमन गरिएको हो ।
राप्ती गाउँपालिकाको साझेदारीमा नामसालिङ्ग सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित दुई वटा सौर्य उर्जा लिप्टङ्ग सिचाई आयोजनाको अनुगमन गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको अगुवाईमा वार्ड नम्बर २ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता पहलवान चौधरी (अनुप), गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, लेखा अधिकृत धनप्रसाद शर्मा, कृषि तथा पशु शाखा प्रमुख जिवराज पौडेल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, प्राबिधिक बिमला भट्टराई खनाल, नामसालिङ्ग सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शंशाकबाबु आचार्य लगायतको टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे