LISTEN LIVE RADIO

दाङको राप्ती गाउँपालिकाका गुरूङ समुदायले धुमधामका साथ मनाए तमु ल्होसार



दाङको राप्ती गाउँपालिकाका गुरूङ समुदायले धुमधामका साथ मनाए तमु ल्होसार

भालुवाङ १५ पुस । दाङको राप्ती गाउँपालिकाका गुरुङ समुदायले तमु ल्होसार पर्व आइतबार धुमधामका साथ मनाएका छन् ।तमु ह्ययुल छोंज धि (गुरूङ राष्ट्रिय परिषद्) इकाई कार्य समिति राप्ती गाउँपालिका वडा नम्बर ८ ले कोहलुवा श्रीनगर बौद्व गुम्बा परिसरमा ल्होसार पर्व मनाएको हो । गुरूङ राष्ट्रिय परिषद् इकाई समिति राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतबहादुर तमुको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी गुरूङ समुदायले लोप हुन थालेको कला, संस्कृति तथा भाषा संरक्षणको माग राखेका छन् । समुदायको पहिचानसँग जोडिएको भाषा, संस्कृति संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने उनीहरूले माग राखेका हुन्। गुरुङ्ग समुदायको पहिचान उनीहरुले बोल्ने भाषा, लगाउने वेशभूषा र मनाउने चाडपर्वले झल्काउने भएकाले समय क्रमसँगै यि पहिचान हराउने अवस्थामा पुगेका छन् । सरकारले दिवस मनाउनको लागी बजेट दिनुभन्दा भाषा संस्कृती संरक्षणको लागी ध्यान दिनुपर्ने गुरुङ्ग राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष खुमबहादुर गुरुङ्गले बताएका छन् ।‘दिवस मनाउन बजेट नदिए हुन्छ। तर, हामिले बोल्ने भाषालाई लिपिबद्ध गर्न र एकबाट अर्कोमा हस्तान्तरण गर्न भाषा प्रशिक्षणको लागी कार्यक्रम बनाउनुपर्‍यो’उनले भने,‘भाषा संरक्षण भयो भने मात्रै हाम्रो पहिचान जोगिन्छ।’ दाङमा रोल्पा, रुकुम, प्यूठान लगायतका जिल्लाबाट गुरुङ्ग जातीहरु बसाईसरेर आएपछि पुख्र्यौंली कला संस्कृतीको संरक्षणमा पनि जुटेका छन्। तमु ल्होसार पर्वको अवसरमा आफ्नो समुदायको पहिचानसँग जोडिएको वेशभूषा, खानपान तथा नाचगान पिपरीमा कार्यक्रम गरेर प्रस्तुत गरेका हुन। स्थानीय सरकारले लोपन्मुख भाषा, कला संस्कृती संरक्षण गर्न ध्यान दिने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले प्रतिबद्धता व्यक्त गरेका छन् ।‘कानुनले दिएको अधिकार सम्म हामीले लोपन्मुख भाषा, संस्कृती संरक्षणको लागी कार्यक्रम बनाउछौं’ उनले भने,‘आउने बर्ष कार्यक्रममा समेट्छौं।’ गुरुङ्ग समुदायले आफ्नो समुदायको भाषा, कला संस्कृती संरक्षण गर्न लोपन्मुख घाटु नाच समेत प्रदर्शन गरेका थिए। नयाँ पुस्तालाई लोपन्मुख भाषा, कला संस्कृति हस्तान्तरण गर्न यी र यस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। कार्यक्रममा एक दर्जन बढी वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तमुस्याे छोंज धि (गुरूङ महिला राष्ट्रिय परिषद्) केन्द्रिय संगठन सचिव विष्णु गुरूङको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन चन्द्र बहादुर गुरूङ र लुमबहादुर गुरूङले गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे