LISTEN LIVE RADIO

दाङको तुलसीपुरमा लखन थापा स्मृति कप फुटबल सुरु



दाङको तुलसीपुरमा लखन थापा स्मृति कप फुटबल सुरु

लक्ष्मण बस्नेत, तुलसीपुर २ फागुन  ।

प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ आईतवार देखि सुरु भएको छ । नेपाल मगर युवा संघ तुलसीपुरको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको संयुक्त व्यवस्थापनमा दाङ तुलसीपुर अरनिको मैदानमा संचालित प्रतियोगिताको सांसद हिरा चन्द्र केसीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले सिङ्गो खेल क्षेत्रलाई देशको समृद्धि संग जोडेर लगे मात्र खेलकुदले अपेक्षाकृत रुपमा फड्को मार्ने बताए । मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेल क्षेत्रको विकास तत्कालको आवश्यक्ता हो, अब स्थानीय स्तरबाटै खेलकुदको विकासमा जुट्नु पर्ने बेला आएको छ, उनले भने ।

त्यस्तै विशिस्ट अतिथी तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले खेलकुदको शहर तुलसीपुरलाई खेलकुदको हवको रुपमा विकास गर्ने लक्ष्यका साथ उपमहानगर अगाडि बढेको बताए । हामी स्थानीय स्तरबाट खेलकुदको विकास गर्नु पर्छ भन्ने लक्ष्य र उद्देश्यका साथ अगाडी बढेका छौ यसमा सबैको चासो र चिन्तनको आवश्यक्ता छ उनले भने । विशिस्ट अतिथी नेपाल मगर संघका केन्द्रीय वरिस्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तिमगरले खेलकुदको उच्च आदर्शलाई आत्म साथ गर्दै खेल विकासमा जुट्नु पर्ने बताए ।

जहानिया राणा शासनका विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवसका अवसरमा प्रतियोगीताको आयोजना गरिएको हो । यसैबिच प्रतियोगिता संचालन मुल समितीका संयोजक घनश्याम पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष खलु पुन, गोरखा माबी तुलसीपुरका प्राचार्य बिजय जिएमले नेपालका प्रथम सहिद लखन थापाको सम्झना र सम्मानका लागि आयोजना गरिएको प्रतियोगितालाई भब्य, सभ्य र बिबाद रहित बनाउन सबैमा आग्रह गरेका छन् ।

प्रतियोगिताका प्राविधिक उपसमिती संयोजक ईन्द्र पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा विभिन्न झाकी जुलुस सहित आएका मगर संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन नेपाल मगर संघ तुलसीपुर नगर कमिटीका अध्यक्ष राम कुमार घर्ती र एच.आर. मगरले गरेका थिए । यसैबिच स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा युनाईटेड युथ क्लब तुलसीपुरले बिजयी सुरुवात गरेको छ ।

उद्घघाटन खेलमा बिजौरी फुटबल क्लबलाई सुन्यका बिरुद्ध १ गोल अन्तरले पाखा लगाउदै युनाइटेडले बिजयी यात्रा सुरु गरेको हो । प्रतियोगिता अन्तरगत भोलि सोमबार तुलसीपुर ४ खाद्रे र शान्तिनगर गाउँपालिका बिच खेल हुनेछ । खेल बिहान ८ बजे सुरु हुने प्रतियोगिता प्राबिधिक उपसमितिका संयोजक ईन्द्र पुनले जानकारी दिएका छन् । प्रतियोगिता अवधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, डिएन दहाल, बिनोद बिक, सुरेन्द्र चौधरी र आदेश केसी रहेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख तथा कप, मेडल, प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ५० र २० हजार नगद, मेडल तथा प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगितामा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे