LISTEN LIVE RADIO

नेपाल र बंगलादेशबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै



नेपाल र बंगलादेशबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै

काठमाण्डाै २ मंसिर । नेपाल र बंगलादेशबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ । नेपाली राष्ट्रिय फूटबल टोलीले आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फूटबल श्रृंखला अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल जीत निकाल्ने लक्ष्यमा छ ।

पहिलो खेलमा पराजित भएकाले नेपाल आज जीत निकाल्दै मैत्रीपूर्ण खेलको सुखद् अन्त्य गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको थियो । नेपालका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले जीत निकाल्ने लक्ष्यसहित मैदान ओर्लने बताएका छन् । आज कोरोना संक्रमणमुक्त भएका रजिन धिमाल मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जीत निकाल्ने दाउमा रहेको छ । नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन् । कोरोना संक्रमण भएपछि उनी सेल्फ आइसोलेसनमा रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

कतारमा २ हजार २२ मा हुने विश्वकप र चीनमा २ हजार २३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेईसँग खेल्न बाँकी रहेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली अनुसार अपरान्ह पौने पाँच बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे