LISTEN LIVE RADIO

उदयपुरको चुनढुंगा खानीमा बम विष्फोट, चार मजदुर घाइते



उदयपुरको चुनढुंगा खानीमा बम विष्फोट, चार मजदुर घाइते

विराटनगर १९ मंसीर । अज्ञात समूहले उदयपुरको एक चुनढुंगा खानीमा लगातार चारवटा बम विष्फोट गराएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र कार्कीका अनुसार बिहीबार राति करिब साढे १२ बजे कटारीस्थित सौर्य चुनढुंगा खानीमा चारवटा शक्तिशाली विष्फोट भएको हो।

प्रहरी प्रवक्ता कार्कीका अनुसार राति अज्ञात समूहका व्यक्तिले राति खानीमा कार्यरत मजदुरहरुमाथि दुर्व्यवहार गरेका थिए। प्रहरी प्रवक्ता कार्कीका अनुसार घटनास्थलमा थप चारवटा शंकास्पद वस्तु पनि फेला परेका छन् । फेला परेका शंकास्पद वस्तु बम हो या अरु नै केही हो भनेर पहिचान गर्न र निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालका अनुसार कटारीको भन्टाबारी ८ मा रहेको सो चुनढुंगा खानीमा हाल नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।

राति घटना भएसँगै फरार भएका सबैजनाको प्रहरीले खोजी कार्य तीव्र बनाएको उनले बताए। घटनाबारे प्रहरी अनुसन्धान भइरहेको बताएका दाहालले कुन बम विष्फोट गराइएको हो त्यसबारे कुरा खुलिसकेको छैन ।

प्रहरीका अनुसार राति एकपछि अर्को विष्फोट हुन थालेपछि घटनास्थलमा मजदुहरुबिच भौगदौड मच्चिएको थियो। यसक्रममा चारजना मजदुर घाइते भएका छन् ।

विष्फोटका क्रममा खानीमा राखिएको एक एक्साभेटर र एउटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयलाई घटनास्थल क्षेत्रतर्फ आवतजावतमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे