LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशद्वारा रुपन्देही र बाँकेमा विद्युतीय बस सञ्चालन गर्ने तयारी



लुम्बिनी प्रदेशद्वारा रुपन्देही र बाँकेमा विद्युतीय बस सञ्चालन गर्ने तयारी

बुटवल ६ बैशाख । लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे ।

प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय बस चलाउने तयारी गरेकाे भए पनि दाङमा भने सडक विस्तारको काममा ढिलाइ भएका कारण आउँदाे आर्थिक वर्षमा विद्युतीय बस सञ्चालन गर्न नसकिने भएको हो । घोराही-तुलसीपुर सडक विस्तारको काम पूरा नहुँदा दाङलाई छोडेर आउँदाे आर्थिक वर्ष बाँकेको नेपालगञ्ज-कोहलपुर सडक र रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा विद्युतीय बस सञ्चालन गर्ने तयारी अघि बढाइएको छ ।

विद्युतीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययनसँगै जग्गा छनोटका लागि सरकारलाई आग्रह गर्ने काम गरिएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मज्गैयाँले बताए  । विद्युतीय बस सञ्चालनका लागि पालिकाहरुले जग्गा छनोट गर्ने, प्रदेश सरकारले बसहरु चार्ज गर्नका लागि चार्जिङ स्टेशन निर्माण गरिदिने र सम्बन्धित ठाउँका व्यवसायी समितिहरुलाई नै बस सञ्चालनको जिम्मा दिने गरी काम अघि बढाउन थालिएको छ ।

प्रदेश सरकारले नै बस किनेर चलाउने नभइ सरकारले विद्युतीय बस सञ्चालनका लागि वातावरण बनाइ दिने मज्गैयाँले बताए ।  ‘बस चलाउनका लागि प्राइभेट कम्पनीलाई दिने गरी कामलाई अघि बढाउँदै छौँ’’ उनले भने । ‘प्रदेश सरकारले व्यवसायीलाई विद्युतीय बस सञ्चालनका लागि ठाउँ निर्माण गरिदिने र बस खरिदका लागि सहुलियत दिन्छ ।’ उनले विद्युतीय बस सञ्चालनका लागि पालिकाहरु समेत उत्साहित देखिएको बताए ।

साथै, ती ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिने भएकाे छ । प्रदेश सरकारले पालिकाहरुसँगै प्राइभेट कम्पनीहरुसँग मिलेर काम गर्नसके खर्च कम हुने मज्गैयाँले बताउनु भयाे । कम्तीमा दुई ठाउँहरुमा ७/८ वटाका दरले बसहरु ल्याएर चलाउने तयारी गरेकाे छ ।

‘सम्भाव्यता अध्ययन गरेका दुवै रुटहरुमा सडकको राम्रो अवस्था रहेको र पालिकाहरु उत्साहित देखिएकाले पाइलट प्रोजेक्टका रुपमा आउँदाे आर्थिक वर्ष बस सञ्चालन गर्ने गरी काम अघि बढ्नेछ । पहिलो प्रोजेक्ट सफल भएपछि दाङको घोराही-तुलसीपुर सडकखण्डमा विद्युतीय बस चलाउने छौँ ’मज्गैयाँले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे