LISTEN LIVE RADIO

पञ्चायत कालमा रुख राेप्दा टाउकाे फुटाइन्थे, कम्युनिस्ट सरकारमा पुल बनाउँदा करङ भाँचिँदैछन् : रामचन्द्र पाैडेल



पञ्चायत कालमा रुख राेप्दा टाउकाे फुटाइन्थे, कम्युनिस्ट सरकारमा पुल बनाउँदा करङ भाँचिँदैछन् : रामचन्द्र पाैडेल

काठमाण्डाै २९ मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको बताएका छन् । सरकारको विरोधमा कांग्रेसले काठमाण्डौमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गरेको बताए ।

लोकतन्त्रमाथि प्रहार गर्नेहरूमा प्रतिगामी तत्त्व (राजावादी) र विप्लव समूह दोस्रो र तेस्रो रहेको पनि उहाँले बताए । उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिस्टले गर्दैछ । दोस्रो प्रहार देशका प्रतिगामी तत्त्वहरूले गर्दैछन् र तेस्रो प्रहार हिजोकै माओवादीभित्रका विप्लवले गर्दैछ । यी सबै तत्त्वहरू लाेकतन्त्रलाई यो देशमा टिक्न नदिने, सहन नसक्ने, नागरिककाे अधिकारलाई सम्मान गर्न नसक्ने, लोकतन्त्रलाई आत्मसात् गर्न नसक्ने तत्त्वहरू हुन् ।’

वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरू नै लोकतन्त्रवादी नभएकाले नागरिकले दुःख पाइरहेको बताए । अलोकतान्त्रवादीहरूले सरकार चलाइरहेकाले लोकतन्त्र सङ्कटमा पार्न खोजिएको बताए । तर नेपाली कांग्रेस रहँदासम्म लोकतन्त्रलाई सङ्कटमा पार्न नदिने समेत वरिष्ठ नेता पौडेलले बताउनुभयो । उनले भने, ‘देशमा यत्रो ठूलो सङ्घर्ष गरेर आएको लोकतान्त्रिक व्यवस्था छ तर यो लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरू लाेकतन्त्रवादी छैनन् । यिनको दर्शन, यिनको सिद्धान्त, यिनको पृष्ठभूमि नै लोकतन्त्रवादी छैन, अलोकतन्त्रवादी छ । जसले गर्दा आज लोकतन्त्र सङ्कटमा पार्न खोजिँदै छ ।’

वरिष्ठ नेता पौडेलले राजाको निर्दलीय पञ्चायतमा रुख रोप्दा टाउको फुटाउने गरेको स्मरण गर्दै अहिलेका कम्युनिस्टहरूले पुल बनाउँदा करङ भाँचिदिएको बताए । उनले राजा र कम्युनिस्ट एक सिक्काका दुई पाटा भएको टिप्पणीसमेत गरे । उनले भने, ‘राजाको निर्दलीय पञ्चायतको बेला हामीले रुख रोप्दा हाम्रा टाउका फुटाइन्थे, आज कम्युनिस्टकाे सर्वसत्तावादमा हामीले पुल बनाउँदा हाम्रा करङ भाँचिँदैछन् । यो एउटा विडम्बना हो । यो एउटै सिक्काका दुई पाटा हुन् । अधिनायकवादका दुई वटा स्वरूप हुन्, चाहे जुनसुकै नाममा आओस् । प्रवृत्ति उही हो । मनोवृत्ति उही हो । सबै सत्ता आफ्नो हातमा लिएर आफै मोज गर्ने, आफ्नो हात जगन्नाथ गर्ने, आफ्ना मान्छे पोस्ने, आफ्नै वर्ग खडा गर्ने वा वर्ग जन्माउने फेरि यो देशमा अभ्यास भइरहेको छ ।’

देशमा भ्रष्टाचार, असुरक्षा र पक्षपात बढेको पनि वरिष्ठ नेता पौडेलले बताए । राज्यको ढुकुटी मासेर पालिका र प्रदेश सरकारको अधिकार खोसेर आफ्ना कार्यकर्तालाई पोस्ने काम भएको पनि उनले बताए । भ्रष्टाचार सरकार डुबिसकेको पनि वरिष्ठ नेता पौडेलले बताए । कम्युनिस्ट पार्टीकै बहुमत नेताहरूले नै सरकार भ्रष्टाचारमा डुबिसकेको बताइसकेकाले अरू भन्नुपर्ने कुरै नभएको पनि उहाँले बताए । सरकारले सत्ताको दुरुपयोग गरिरहेको आरोप छ ।

७० वर्षसम्म नागरिकले लडेर ल्याएको संविधान र सपूतहरूको अथक प्रयासबाट कायम भएको व्यवस्था खलबल्याउने काम भएको पनि पाैडेलले भने। सरकार कम्युनिस्ट पार्टीको भए पनि देश कम्युनिस्ट नभएको भन्दै सरकारले देशलाई कम्युनिजम बनाउने दुस्साहस गरिरहेको उनकाे भनाइ छ । उनले भने, ‘सरकार कम्युनिस्ट पार्टीको होला तर देश कम्युनिजम होइन । देश साम्यवादी होइन । कम्युनिस्टको सरकार होला, कम्युनिस्ट पार्टीको होला तर राज्य कम्युनिस्ट होइन । तर राज्यलाई नै कम्युनिस्ट बनाउने दुस्साहस आज यिनीहरूले गर्न गइरहेका छन् ।’

अहिले देश पूर्णरूपमा असफलतातिर गइरहेको र त्यसको हिसाब अवको चुनावमा नागरिकसँग माग्ने पनि वरिष्ठ नेता पौडेलले बताए । उनले भने, ‘यो सरकार पूर्णरूपमा असफलतातिर गइरहेको र हामी त्यसको हिसाब आउँदो चुनावमा नागरिककाेमा गएर माग्छौँ । हामी लोकतन्त्रवादी हौँ । अहिल्यै हामी सरकार फाल भनिरहेका छैनौँ । सरकार जान्छ भने उनकै अन्तरद्वन्द्वले जान्छ । हामीलाई लेनादेना केही पनि छैन तर हामी यसको हिसाब छोड्नेवाला छैनौँ ।’

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसबाट कुनै कमी कमोजरी भएमा सुधार गरी सच्याएर अगाडि बढ्न चाहेको पनि प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे