LISTEN LIVE RADIO

बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको हाे : गगन थापा



बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको हाे : गगन थापा

कैलाली २९ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली कांग्रेस सडकमा उत्रिएको बताएका छन् ।

कांग्रेसद्वारा धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको बताए । उनले सरकारलाई ठेगानमा नलगाएसम्म नेपाली कांग्रेस घर फिर्ता नहुनेसमेत बताए ।ओली सरकार इतिहासकै भ्रष्ट भएको भन्दै नेता थापाले बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री र स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने स्वास्थ्यमन्त्री नै प्रधानमन्त्रीका प्रिय रहेको बताए ।

नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना नभएको भन्दै कांग्रेस नेता थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताए । सरकारले हावादारी गफ दिँदै समय बिताएको आरोप लगाउँदै नागरिककाे पक्षमा कुनै काम गर्न नसकेकोले कांग्रेसले खबरदारी गरिरहेकाे बताए ।

धनगढी चौराहबाट र्‍यालीसहित सुरु भएको प्रदर्शन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो । जिल्लाका विभिन्न भागबाट सभामा सहभागी हुन कांग्रेस नेता तथा समर्थकहरू धनगढी पुगेका थिए । सभालाई केन्द्रीय सदस्य गगन थापा, पूर्वमन्त्री रामजनम चौधरी र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशीला मिश्र भट्टले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे