काठमाण्डाै उपत्यका सहित देशभरकाे वायु प्रदूषण अझै ३ दिन सम्म कायमै रहने



काठमाण्डाै ३ वैशाख । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने भएको छ ।

प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाले जनाएको छ ।

यस्तै वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताए । उनले स्याटलाइट इमेज हेर्दा काठमाण्डाै उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताए । बारा, पर्सा र चितवनबाट बाग्मती काेरिडोर हुँदै काठमाण्डाैमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाण्डाै उपत्यकामा प्रदूषणको मात्रा बढेको बताए ।

यसैबीच विज्ञहरूले प्रदूषणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन् । वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ । जलवायु तथा विपदविज्ञ डा. धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताए । उनले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताए। उनले केही दिनका लागि धुँवा निकाल्ने गाडी र मापदण्ड पालना नगरेका गाडी सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे । उनले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्र गर्न र कालोपत्र गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताए ।

उप्रेतीले वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सरलगायतका समस्याहरू बढ्ने बताए । यसै बीच प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरूको उडान प्रभावित बनेको हो । काठमाण्डाैमा अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे