नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै, निर्णायक छलफलमा देउवा र प्रचण्ड



नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै, निर्णायक छलफलमा देउवा र प्रचण्ड

काठमाण्डाै १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको एक हप्ताको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले  गएको ३ गते  दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा दिनुभएको थियो । राष्ट्रपतिले दिएको समयसीमा घर्किनै लाग्दा पनि दलहरुबीच सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पटक पटक छलफल र वार्ता भए पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ । गठबन्धन दलहरुबीच आज फेरि छलफल गर्ने तयारी छ । यसअघिका छलफलमा नेताहरु टसमस नभएपछि आज बिहान १० बजे पुनः बैठक बोलाइएको छ । हिजो र अस्ति लगातार छलफल भए  पनि शीर्ष नेताहरूबीच सहमति हुन सकेन ।

सरकारको नेतृत्वसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका पदमा जिम्मेवारी बाँडफाँटको विषयमा छलफल केन्द्रित छ । सरकारका  प्रवक्ता  तथा  सञ्चार  तथा  सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूबीच सहमतिको खाका निर्माण गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पुर्याउने दलले आज बेलुका ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ । धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६ को २ बमोजिम राष्ट्रपतिले आह्वान गरेकी छिन्। २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ ।

कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन । कांग्रेसले ८९, एमालेले ७८ सिट जितेका छन् भने माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाको १/१ सिट छ । स्वतन्त्रले ५ सिट जितेका छन् । सत्तागठबन्धनका पाँच  दल  कांग्रेस, माओवादी  केन्द्र, नेकपा (एकीकृत  समाजवादी), लोकतान्त्रिक   समाजवादी   पार्टी र  राष्ट्रिय  जनमोर्चा सरकार गठन र शक्ति बाँडफाँटको औपचारिक सहमति जुटाउन निरन्तर गृहकार्यमा छन् । माओवादीलाई मनाउन देउवाले दुई विकल्प अगाडि सार्नुभएको छ ।

एकीकृत समाजवादीलाई राष्ट्रपति दिने र माओवादीलाई सभामुख दिने उहाँको प्रस्ताव छ । तर कांग्रेसभित्रै राष्ट्रपति छाड्न नहुने अडान पनि छ । संवैधानिक बाध्यताअनुसार आज बेलुका ५ बजेसम्ममा सरकार गठनका लागि दाबी गर्नुपर्ने  भएकाले  गठबन्धनका  शीर्ष  नेताहरू त्यही तयारीका साथ सहमति निर्माण गर्नेतर्फ केन्द्रित भएको उनको भनाइ छ ।

चुनावमा सबैभन्दा  ठूलो  दल  बनेको  नेपाली कांग्रेसले सरकार गठन प्रयोजनका लागि प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर समेत सङ्कलन गरेको छ । आज सहमति नभए ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस सभापति देउवाको रणनीति छ । तर सहमति जुट्न नसकेमा एमालेसँग आजै निर्णायक वार्ता गर्ने प्रचण्डको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे