सत्तारुढ दलको बैठक निष्कर्षविहीन, प्रधानमन्त्रीकाे टुङ्गो भाेली लाग्ने



सत्तारुढ दलको बैठक निष्कर्षविहीन, प्रधानमन्त्रीकाे टुङ्गो भाेली लाग्ने

काठमाण्डाै ९ पुस । नयाँ सरकार गठनको लागि छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक निष्कर्ष विना नै सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने भोली बैठक बसेर टुङ्गो लगाउने बताए ।

उनले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै देशलाई नागरिकको आकाङ्क्षा अनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताए। उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने दाबी गर्दै गठबन्धनले नै नागरिकको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दाबी गरे । मन्त्री कार्कीले नागरिकको आकाङ्क्षालाई गठबन्धनको सरकार बनाएर तीव्र गतिले अघि बढाएर लैजाने दाबी गरे ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले भोली बेलुकी ५ बजेसम्मको समय दिएकी छन् । त्यसअघि नै कुनै प्रतिनिधि सभा सदस्यले आफ्नो पक्षमा बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष दाबी पेस गर्नुपर्नेछ । सत्तारुढ गठबन्धनले आफ्नो सरकार निर्माणका लागि प्रयास गरिरहेको छ । तर सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले प्रधानमन्त्रीसँगै राष्ट्रपति लगायत मुख्य पदहरुको बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री पद आफूले पाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे