LISTEN LIVE RADIO

नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय सकिन २ दिन बाँकी, दलहरू छलफलमै



नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय सकिन २ दिन बाँकी, दलहरू छलफलमै

काठमाडाैँ ८ पुस । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ । दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्।

त्यसयता दलहरूले संसदीय दल नेता चयन गर्ने, त्यसपछि मात्रै नयाँ सरकार गठनबारे छलफल गर्ने बताएका थिए । दलहरूले संसदीय दलको नेता चयन गरिसके तर को प्रधानमन्त्री बन्ने भन्ने विषय ‍औपचारिक रूपमा छलफल नै गरेका छैनन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दलहरूलाई दिएकी छन् ।

यो समयभित्रै नयाँ सरकार बन्नेमा सत्ता गठबन्धनमा रहेका दलका नेताहरू ढुक्क छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनले पुस १० भित्र नयाँ सरकार बनाउने बताए ।

सांसदको शपथ लिएसँगै बिहीबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका प्रचण्डले को प्रधानमन्त्री बन्ने भन्ने विषय सल्लाह भइरहेको बताएका छन् । बिहीबार नै प्रचण्ड सर्वसम्मत रूपमा संसदीय दल नेता चयन भएका थिए ।

बिहीबार साँझ बालुवाटारमा गठबन्धनका तीन शीर्ष नेतासहित दलका नेताहरूबीच सरकार गठन गर्ने विषयमा सामान्य छलफल भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक घटनाक्रम र नयाँ सरकारबारे कुराकानी भएको हो ।

कांग्रेस सभापति देउवा पुन: प्रधानमन्त्री हुन चाहेका छन् । जनताको म्यान्डेट पनि कांग्रेस नेतृत्वमा सरकार गठन भएको जिकीर कांग्रेसको छ ।

कांग्रेसले प्रधानमन्त्री र सकेसम्म राष्ट्रपति पनि आफैँसँग राख्न खोजेको छ। प्रतिनिधि सभा संसदमा कांग्रेस ८९ सांसदसहित सबैभन्दा ठूलो दल छ । नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी गरेको छ ।

आलोपालो सरकार गठनबारे ‘मौखिक समझदारी बनेकै हो’ भन्ने हिसावले माओवादीले प्रधानमन्त्री आफूले लिएर राष्ट्रपति कांग्रेसलाई राख्न भनेको माओवादीका एक नेता दाबी गर्छन् ।

अहिलेसम्म कांग्रेसले सरकारको नेतृत्व गरेकोले अब आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डको छ। कांग्रेसका नेताहरूले भने यही गठबन्धनबाट नयाँ सरकार बनाउने गरी छलफल गर्दै जाने बताएका छन् ।

देउवा सरकारमा रहेका केही मन्त्रीहरूले आफूले गरेका कामकारबाहीबारे जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन राखेकोले पनि दलहरू छिटै नयाँ सरकार बनाउँदैछन् भन्ने संकेत देखिएको छ ।

सत्ता गठबन्धनमा कांग्रेस ८९, माओवादी ३२, एकीकृत समाजवादी १०, राष्ट्रिय जनमोर्चा १, लोसपा ४ गरी १३६ जना सांसद छन्। कांग्रेसमा ८९ जना सांसद भए पनि मनाङबाट निर्वाचित टेकप्रसाद गुरूङ संसद प्रवेश गर्न पाउँदैनन्, उनीविरूद्ध अदालतमा मुद्दा छ।

तर उनले बिहीबार शपथ भने लिए । यो गठबन्धनसँग १३५ जना सांसद छन्, नयाँ सरकार बनाउन ३ सांसद पुग्दैन । सत्ता गठबन्धनले ६ सांसद भएको जनमत पार्टीलाई पनि सरकारमा ल्याउन छलफल गरिरहेको छ ।

यस्तै नेकपा एमालेले पनि आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कोशिस गरिरहेको छ। प्रतिनिधि सभामा एमालेका ७८ जना सांसद छन् । माओवादीले गठबन्धन छाडेर आए माओवादीसहित राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको साथ लिएर सरकार गठन गर्न सकिने एमाले नेताहरू बताउँछन् ।

एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २०, राप्रपासँग १४ सांसद गरी १४४ सांसद पुग्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्‍याउन १३८ जना सांसद चाहिन्छ । राप्रपा, रास्वपालगायत दलहरूले सरकारमा जाने आफूहरूको प्राथमिकता नभएको तर सरकार नै गठन हुन नसक्ने अवस्था आएमा सहयोग गर्न सकिने बताइरहेका छन् ।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समय आइतबार अपरान्ह सकिँदैछ । त्यो बेलासम्म पनि दलहरूले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेनन् भने दलहरूकै आग्रहमा राष्ट्रपतिले पुन: संविधानको धारा ७६ को २ अनुसार समय थप गर्ने वा संविधानको धारा ७६ को ३ अनुसार सरकार गठनका लागि समय दिने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे