LISTEN LIVE RADIO

सरकार गठनमा प्याकेजमै सहमति गर्ने गरी छलफल गर्दै गठबन्धन, विकल्पको खाका तयार



सरकार गठनमा प्याकेजमै सहमति गर्ने गरी छलफल गर्दै गठबन्धन, विकल्पको खाका तयार

काठमाण्डाै ८ पुस । नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनका दलहरुले छलफललाई तीव्र पारेका छन् । गठबन्धनमा आबद्ध दलभित्र नयाँ सरकार गठन र शक्ति बाँडफाँटमा सहमति गर्ने गरी विकल्पको खाका तयार भएको र आजदेखि यही खाकामाथि थप छलफल हुने अनुमान छ ।

राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो अडान कायमै राख्दा सरकार गठन थप पेचिलो बन्दै गएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब बढाउन अन्य पार्टीसँगको सहकार्यसमेत गर्न सक्ने बताइरहेका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा यही गठबन्धनलाई अगाडि बढाउने तयारीमा रहेकाले पनि सहमतिका लागि विकल्पको खाकामाथि छलफलको तयारी भएको हो । नेपाली कांग्रेसले राष्ट्रपति आफूलाई र माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने गरी खाका बनाएको जनाइएको छ । तर यसबारे औपचारिक जानकारी केही पनि सार्वजनिक भएको छैन ।

नयाँ सरकार गठन र भागबण्डाबारे आज पनि दलहरुबीच छलफल हुँदैछ । उनीहरुले प्याकेजमा नै सहमति गर्नेगरी छलफललाई अघि बढाउँदै छन् । गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्यादेवि भण्डारीले दिएको सीमा पर्सि आइतवार सकिँदै छ । यस कारण  पनि सहमति जुटाउन गठबन्धनभित्र दबाब बढेको छ । प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ३ गते ७ दिनको समय सीमा दिनु भएको थियो ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यका लागि दाबी पेस गर्न आह्वान गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे