मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस



मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस

भदौ १७  विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार  सिफारिस भएका छन् ।

जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने चर्चा छ ।  अध्यक्ष आउने टुङ्गो नभए पनि आउन चाहेमा ठाउँ खाली राखिएको जसपा नेताहरु बताउँछन्  ।

मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदायका यादव २०६४ सालको पहिलो संविधानसभा  निर्वाचनमा मोरङ  ५ बाट विजयी भएका थिए ।  २०७०  को दोस्रो संविधानसभा  निर्वाचनमा भने उनी कांग्रेस उम्मेदवार अमृत अर्यालसँग पराजित भए ।  २०७४ सालमा उनले सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।

‘मेरो नाममा सर्वसम्मत थियो, तर अध्यक्षज्यू आउने हुँदा ठाउँ खाली राखेर दुई जनाको नाम सिफारिस गरेका छौं,’ जसपा जिल्ला अध्यक्ष यादवले भने, ‘ पहिलो नम्बरमा  उपेन्द्र सर(यादव) र दोस्रो नम्बरमा मेरो नाम सिफारिस भएको छ, प्रदेशसभा क मा ४ र ख मा ५ जनाको नाम पनि सिफारिस भयो ।’

मोरङ ५ आउने चर्चा भएपनि उपेन्द्र यादव सप्तरीबाटै चुनाव लड्ने विषयमा स्पष्ट रहेको उनका छोरा तथा जसपा विराटनगर महानगर समिति अध्यक्ष अमरेन्द्र यादवले बताए ।

२०७४ सालको निर्वाचनमा मोरङ ५ मा माओवादी केन्द्रबाट शिवकुमार मण्डल निर्वाचित भएका थिए ।  उनी पुन टिकटको दाबेदार हुन् ।  काङ्ग्रेसबाट अमृत अर्याल पनि टिकटको दाबेदार छन् ।

नेकपा एमालेबाट  योगेन्द्र मण्डल  टिकटको एकल दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे