संघ र प्रदेशको समन्वय नहुँदा डाक्टर अन्योलमा



संघ र प्रदेशको समन्वय नहुँदा डाक्टर अन्योलमा

भदौ १७ तुलसीपुर/ संघीय सरकार र प्रदेश सरकारको समन्वय नहुँदा राप्ती प्रादेशिक अस्पतालका अर्थोपेडिक डा. ओम अर्याल अन्योलमा परेका छन् । संघीय सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा भएको पत्र पठाएको १०-१५ मिनेटमै प्रदेशबाट राप्ती प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डन्टको रुपमा पत्र आएपछि डा. अर्याल अन्योलमा परेका हुन् ।

बुधबार मन्त्रालयमा बैठक बसी आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी अर्थोपेडिक डा. अर्याललाई नियुक्त गरेको पत्र अपरान्ह सवा ४ बजेतिर आएको थियो । तर त्यो पत्र आएको १०-१५ मिनेटमै प्रदेशबाट पनि अर्को पत्र मेलमा आएको डा. अर्यालले बताए ।

‘संघले प्रतिष्ठानमा जा भन्छ, प्रदेशले यही बसेर काम गर भन्छ । म कहाँ बसेर काम गर्ने अन्योलमा छु । संघ र प्रदेश सरकारको समन्वय नभएपछि म त दुई ढुंगाको तरुल जस्तै भएको छु’-डा. अर्यालले भने ।

त्यस्तै डा. अर्यालले प्रदेश सरकारको निर्णयलाई स्वीकार गरेर आफू निमित्त मेसु भएर काम गरेको बताउदै अन्तिम निर्णय दुई/चार दिन भित्रै हुने बताए । संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको त्यो पत्रमा डा. अर्यालको दरबन्दी रहेकै स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काजमा फिर्ता जान भनेको छ भने प्रदेश सरकारले निमित्त मेसुको जिम्मेवारी दिएको निर्णय गरेको उल्लेख छ ।

डा. अर्याल संघ अन्तर्गतका डाक्टर हुन् । उनको दरबन्दी प्रतिष्ठानमै छ । काजमा उनलाई प्रादेशिक अस्पताल ल्याईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे