LISTEN LIVE RADIO

नरवणेको नेपाल आगमनले दुई देशकाे सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास छ : नेपाली सेना



नरवणेको नेपाल आगमनले दुई देशकाे सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास छ : नेपाली सेना

काठमाडौँ भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले गर्ने नेपालको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध अझ सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ।

भारतीय वायु सेनाको विशेष विमानमार्फत भारतका स्थल सेनाध्यक्ष नरवणे काठमाडौं ओर्लिएलगत्तै नेपाली सेनाको मुख्यालय जंगी अड्डाले विज्ञप्ति जारी गरी उक्त विश्वास व्यक्त गरेको हो।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।’

नेपाली सेनाका अनुसार प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्।

साथमा उनकी धर्मपत्नी विना नरवणे पनि आएकी छन्। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा र श्रीमती सुनिता शर्माले स्वागत गरेका थिए।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार जनरल नरवणेलाई भोलि बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने  समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे