राष्ट्रिय संगीतकर्मी संघकाे केन्द्रिय अध्यक्षमा प्रकाश कटुवाल निर्विरोध निर्वाचित



राष्ट्रिय संगीतकर्मी संघकाे केन्द्रिय अध्यक्षमा प्रकाश कटुवाल निर्विरोध निर्वाचित

काठमाडाैँ ३० बैशाख । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको अध्यक्षमा लोक गायक प्रकाश कटुवाल निर्विरोध निर्वाचित भएका छन् । शनिबार राती राष्ट्रिय सभागृहमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रीय महाधिवेशनबाट गायक कटुवालको अध्यक्षतामा सङ्घको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती, उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) निर्वाचित भएका छन् भने महासचिवमा विनोद ढकाल, उप-महासचिवमा मानबहादुर तामाङ र रविन्द्र रिमाल, सचिवमा दिनेश डाँगी, शोभा थापा, आशा लामा र रुपक परियार निर्वाचित भएका छन् ।

यसैगरी सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह-कोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन् । सङ्घको केन्द्रीय सदस्यहरुमा नवराज भट्टराई, कुलबहादुर वली, दिनेश भण्डारी, नहकुलप्रसाद गौतम, प्रदिप रोक्का, अशोक सापकोटा, रुपेश पुडासैनी, ऐनबहादुर दौड्याल, दिलु बिसी, ढकबहादुर खत्री, उमेश शिवाकोटी, दिलबहादुर भण्डारी (दिनेश), यज्ञकुमारी रुचाल, शंकर ढकाल, सुमी श्रेष्ठ, निरुता खत्री, प्रतिमा अर्याल र सुजाता केसी निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको उपमहासचिव, सचिव, सहसचिव र महिला सदस्यमा मतदान भयो भने बाँकी पदका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिले आइतबार बिहान पद तथा गोपनियताको सपथ खुवाएको छ । पद तथा गोपनियताको सपथ लिएसँगै नव निर्वाचित अध्यक्ष प्रकाश कटुवालले संस्थामा सबैलाई मिलाएर अगाडि बढाउने बताए ।

कलाकारको हक हितमा नयाँ योजना, सङ्घको आफ्नो भवन निर्माण, कलाकार कल्याणकारी कोष स्थापना र सङ्गीत विकाश बोर्ड स्थापनामा विशेष प्राथमिकता रहने उनले बताएका छन् । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटाले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गरेको यस महाधिवेशनमा सहभागिताका लागि देशभरबाट २० हजारभन्दा बढी कलाकारहरु काठमाडौं आएका थिए l

सो उद्घाटन समारोहमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एवं सङ्घका सल्लाहकार रामजी बगाले, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर, पूर्व अध्यक्षहरु बद्री पंगेनी, चन्द्र शर्मा, उपाध्यक्ष राधिका हमाल, राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष बिनोद श्रेष्ठ, लोक सञ्चारकर्मी सङ्घका अध्यक्ष चन्द्रमणि गौतम, इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक गायक कृष्ण कँडेललगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार रामजी बगाले, राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष बिनोद श्रेष्ठ, ग्रीनसिटी अस्पतालका अध्यक्ष एलबी टन्डन, साझा सवाल मिडियाका सम्पादक अनिल अधिकारी, न्युजलाइन्स मिडियाका पत्रकार राजु भट्ट सहित सङ्घका विशेष सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि बासकोटाले नेपाली गीतसङ्गीत तथा कलाको क्षेत्रमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घको तर्फबाट कलाकाहरुले निकै ठूलो योगदान पुर्याएको बताए । कलाकारहरुको एकता र हकहितका लागि यस संस्थाले गरेको कामको उनले प्रशंसा गरे ।

समारोहमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका महासचिव अमृत खातीले कार्यक्रमबारे प्रकाश पार्दै सङ्घमा गायक, गायिका, नृत्यकार, मोडल, चलचित्रकर्मी जस्ता विविध पेशाका कलाकारहरु आबद्ध रहेको बताए । आफू महासचिव हुँदाको अवस्थामा सङ्घमा उल्लेख्य प्रगतिको कार्य भएको बताउँदै खातीले सो बारे प्रकाश पारे । कार्यक्रमका विशिष्ट अतिथि रामजी बगालेले सङ्घको १८ औं वार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले अधिवशेनले कलाकारहरु जुटेर अघि बढ्न सक्छन् भन्ने सन्देश दिने विश्वास व्यक्त गरिन् । सङ्घको अधिवेशनको शुभकामना दिँदै उनले आउँदा कार्यसमिति निकै राम्रो बन्ने जनाउँदै प्रतिष्ठान र सङ्घ एउटै आमाको दुई सन्तान जस्तै भएको बताईन् । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी र चन्द्र शर्माले पनि सङ्घको १८ औं वार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे ।

सङ्घका नवनिर्वाचित कार्यवाहक अध्यक्ष प्रकाश कटुवालले आफू सँधै कलाकारहरुको हकहित र एकताको पक्षमा रहेको बताए । हरेक जिल्लामा पुगेर अधिवेशन गर्दै आफूले त्यहाँका कलाकारहरुको समस्या बुझेकाले ती समस्या समाधानको लागि सधैं क्रियाशील रहने जनाए । अहिले बजारमा सङ्घबारे विभिन्न गुटबन्दी चलिरहे पनि आफू एकताको पक्षमा रहेको अध्यक्ष कटुवालले बताए । उद्घाटन समारोहको शुभारम्भमा नौमती बाजाले अतिथिहरुलाई स्वागत गरिएको थियो । सांस्कृतिक झाँकी र विभिन्न लोकनृत्यले कार्यक्रमलाई निकै आकर्षक तुल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे