सङ्घीय र प्रदेश सभा चुनाव मङ्सिर पहिलाे हप्तासम्म हुने



सङ्घीय र प्रदेश सभा चुनाव मङ्सिर पहिलाे हप्तासम्म हुने

काठमाण्डाै ३१ जेठ । निर्वाचन आयोगले आउँदाे मङ्सिर पहिलो हप्तासम्म सङ्घीय र प्रदेश सभा चुनाव गर्ने गरी तयारी थालेको छ ।  आज मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय र प्रदेश सभाकाे चुनाव आउँदाे मङ्सिर पहिलो हप्तासम्म गर्ने गरेर आन्तरिक तयारी थालेको बताउनुभएको हो ।

प्रवक्ता पौडेलले आयोगले निर्वाचन कानुनअनुसार दिएको परामर्शमा सरकारले चुनावकाे मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आयोग एकै चरणमा चुनाव हुनुपर्छ भन्नेमा नै छ । एकै चरणमा चुनाव गर्दा मङ्सिरको पहिलो हप्तासम्म गर्ने गरी आन्तरिक तयारी गरेको छ ।’

यस्तै आयाेगले सङ्घीय र प्रदेश सभा चुनावलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्ने भएकाे छ । प्रवक्ता पौडेलले असार १ गतेदेखि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको बताउनुभयो ।

उहाँले अहिले अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गर्नुभयो । प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे