स्थानीय निर्वाचनमा कमजोरीका बावजुद सफलता मिलेको पाँच दलीय गठबन्धनको निष्कर्ष



स्थानीय निर्वाचनमा कमजोरीका बावजुद सफलता मिलेको पाँच दलीय गठबन्धनको निष्कर्ष

काठमाडाैँ १६ जेठ । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनबाट सन्तोषजनक परिणाम प्राप्त भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेका गठबन्धनका शीर्ष नेताको बैठकले स्थानीय निर्वाचनको प्रारम्भिक समीक्षा गर्दै उक्त निष्कर्ष निकालेको हो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेल उपलब्धि मुलुक भएको बैठकको निष्कर्ष सुनाए । ‘स्थानीय निर्वाचनको प्रारम्भिक समीक्षा भयो,’ उनले रातोपाटीलाई भने, ‘केन्द्रीय स्प्रिड अनुसार तल तालमेल हुनु सकेन ।

त्यसले हुनुपर्ने जति उपलब्धि हुन सकेन । तैपनि गठबन्धनबीच तालमेल भएको ठाउँमा राम्रै परिणाम आएको छ ।’ स्थानीय निर्वाचनमा भएको तालमेल पाँच दलीय गठबन्धनमा सबैका लागि राम्रै बैठकको उनको भनाइ छ ।

यस्तै बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि गठबन्धन मूलभूत रुपमा सफल भएको निष्कर्ष निकालिएको बताइन् । उनले भनिन्, ‘स्थानीय निर्वाचनका लागि हामीले बनाएको निर्णय र नीति हुबहु लागू गर्न पाएको भए धेरै सफल भइन्थ्यो ।

केही कमी कमजोरी रहे । त्यसका बावजुद पनि गठबन्धन सफल रह्यो भन्ने बैठकको निष्कर्ष छ ।’ पाँच दलीय गठबन्धन सबै नेताहरुको सोही खालको धारणा रहेको उपाध्यक्ष पौडेलको भनाइ छ । ७ सय ५३ पालिका मध्य देशभर २ सय ९ पालिकामा पाँच दलीय गठबन्धन भएको थियो ।

वैशाख ३० गते सम्पन्न निर्वाचन अन्तर्गत ७५२ पालिकाको नजिता आउँदा काँग्रेसले ३२९, माओवादीले १२१, जसपाले ३०, एकीकृत समाजवादीले २० र जनमोर्चाले २ पालिका प्रमुख जितेको छ ।

जिल्ला र कार्यपालिकामा मिलेर जान निर्देशन

अब पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा पनि पाँच दलभित्रै मिलेर जाने  निर्णय भएको काँग्रेस नेता पौडेलले बताए । उनले भने, ‘७७ जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच सहमति गरेर अगाडि बढ्ने निर्णय भएको छ ।

’ यसको कार्यान्वयनका लागि काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आ–आफ्नो दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने उनले बताए । पौडेलका अनुसार स्थानीय तहको परिणामले प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धनबीच तालमेलको आधार तयार गरेको बैठकमा निष्कर्ष छ ।

‘गठबन्धनले आगामी रणनीति बनाउँदै जाने छ । स्थानीय तह निर्वाचनको परिणामले प्रदेश र संघको निर्वाचनमा तालमेल गरेर जाने आधार तय गरेको छ भन्नेमा पाँचै दल सहमति छौं,’ पौडेलले भने ।

उनका अनुसार बैठकमा सरकारले आइतबार  ल्याएको आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमाथि पनि सामान्य समीक्षा भएको छ । ‘बजेटको पनि समीक्षा भएको थियो । सालाखाला बजेट राम्रो आएको गठबन्धनको निष्कर्ष छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे