तिहार पर्वकाे राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त



तिहार पर्वकाे राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

काठमाण्डाै २० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छिन् ।  तिहार पर्वको अवसरमा शुभकामना सन्देश मार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेकी हुन् ।

‘झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतीकात्मक उत्सव पनि हो’, राष्ट्रपति भण्डारीले जारी गरेकाे शुभकामना सन्देशमा भनिएको छ, ‘दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।‘

तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गरेका हुन् ।

सबै खाले चाड पर्वको संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व रहेको उपराष्ट्रपतिको भनाइ छ । उपराष्ट्रपतिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभामा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार पर्व मनाउन आग्रह गरेका छन् । अझै पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको र सबै नागरिकले पूर्ण खोप नलगाएको हुँदा स्वास्थ्य मापदण्डलाई पालना गरी तिहार पर्व खुशीयालीका साथ मनाउन  प्रधानमन्त्री देउवाले आग्रह गरेका हुन् ।

भाइटीकाकाे अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र सबैको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् ।

स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे