मन्त्रीलाई बाेलाएर विपद्सम्बन्धी विषयमा छलफल गर्ने समितिकाे निर्णय



मन्त्रीलाई बाेलाएर विपद्सम्बन्धी विषयमा छलफल गर्ने समितिकाे निर्णय

काठमाण्डाै ५ साउन ।  राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैविक प्रकोप सम्बन्धी विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ । समितिको मङ्गलवारको बैठकमा सभापति शशि श्रेष्ठले यही शुक्रवार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताए ।

समितिको बैठकमा सांसदहरूले बाढी, पहिरो तथा डुबानबाट पीडित भएका नागरिककाे उद्धार, राहत तथा पुनर्स्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए । कतिपय ठाउँमा सरकारको उपस्थिति नै नभएको भन्दै गृह मन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिन माग गरेका थिए ।

छलफलमा विपद् तथा दैविक प्रकोप सम्बन्धिका कुरामा सांसदहरूले आफ्नो धारणा राखेका थिए । सांसद दिलेन्द्रप्रसाद बडुले प्रतिवेदनमा रहेका प्रमुख बुँदा सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गरे ।

छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिन सक्ने बताए । सांसद प्रेम सुवालले समितिमा पेस भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गरे । तीन वटै उपसमितिले बनाएको प्रतिवेदन अर्को एक समितिले हेर्दा उपयुक्त हुने उनको धारणा थियो ।

त्यस्तै सदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताए । उनले राहतमा खसी देखाएर फर्सी दिने त्यो पनि आज, भोलि नभएर पर्सि भएको बताए । सांसद डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्वीकार्दै समितिका सुझावलाई प्रतिनिधि सभामा लैजाने वातावरण मिलाउन सुझाइन् ।

त्यस्तै लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नगरेकाे बताउनुभएको छ । सुशासन समितिको बैठकमा बोल्दै पण्डितले समितिले प्रतिवेदन ड्राफ्टमा ल्याएर छलफल गर्नुपर्ने धारणा राखे । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे