LISTEN LIVE RADIO

वडा अध्यक्ष र कार्यपालिका सदस्यद्धारा लमही नगरपालिकाको मुलगेटमा धर्ना



वडा अध्यक्ष र कार्यपालिका सदस्यद्धारा लमही नगरपालिकाको मुलगेटमा धर्ना

लमही १८ चैत्र । दाङ देउखुरीको लमही नगरपालिकामा केहि वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बुधवार धर्ना दिएका छन् । विवादित प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई ल्याउन खोजेको भन्दै उनीहरुले नगरपालिकाको मुल गेटमा विरोध स्वरुप धर्ना बसेका हुन् ।

विवादित छबिका डाँगीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याउन थालेपछि धर्ना बस्नु परेको वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीले बताए । डाँगी यस अघि लमही नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । विभिन्न परियोजनामा घोटला गर्न थालेपछि बहुमत पालिका सदस्यहरुले डाँगीलाई हटाउन माग गरेका थिए । नगरपालिका प्रमुखले वास्ता नगरेपछि त्यसबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिन्तीपत्र पठाएको वडा अध्यक्ष चौधरीले बताए ।

डाँगीले विभिन्न परियोजनामा घोटला गर्ने, योजना पूरा नहँुदै भुक्तानी दिइहाल्ने, १४ रुपैयाँको औषधी २८ रुपैयाँमा आएको टेन्डर पास गरिदिने, हुँदा हुँदा घुस पनि खान थालेपछि हामीले मेयरसापलाई ज्ञापन पत्र बुझायौं । त्यतिले पनि नभएपछि मन्त्रालयमै बिन्तीपत्र बुझायौं । अनि बल्ल डाँगीलाई मन्त्रालयले तानेछ, वडा अध्यक्ष चौधरीले भने । त्यसपछि डाँगी कपिलवस्तुको कृष्णनगर र वाणगंगा नगरपालिकामा सरुवा भएका थिए । त्यहाँबाट सेटिङ मिलाएर फेरि लमही नगरपालिका आउन थालेपछि विरोध गरेको वडा नम्बर ६ का वडा अध्यक्ष गणेशमान चौधरीले बताए ।

बहुमत सदस्यहरुले एक विज्ञप्ति जारी गरेर यसको विरोध समेत गरेका छन् । उनीहरुले डाँगी नगरपालिकामा जिम्मेवारी लिएर आएमा नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् । नगरपालिकाको गत वर्ष २०७६–११–०६ गतेका दिन देखि तत्कालीन प्रमुख प्राशासकीय अधिकृत गहेन्द्रबहादुर डाँगीको विषयमा ठूलो विवाद भई निजको सरुवा गराउनका लागि नगर कार्यपालिकाका १९ जना सदस्य मध्ये १६ जना सदस्यहरूको हस्ताक्षर तथा नगर सभाका ५० जना सदस्यमध्ये ४७ जना सदस्यहरूको हस्ताक्षरसहित नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको कुरा आम नागरिक वासीहरूलाई अवगत छ । जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यता नगरपालिकाकी उपप्रमुख देवका बेल्बासेले यसमा आफूहरुको कुनै हस्तक्षेप नरहेको बताइन् । डाँगी माथिकै निर्णयबाट आएकाले यसमा आफूहरु केही गर्न नसक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे